टीकापुर, साउन १६
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूसँग समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका छन् ।
मुख्यमन्त्री शाहले शनिबार प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल गरेका हुन् ।
बैठकमा मुलुकमा विकसित राजनीतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन तथा झडपका घटनाका साथै मनसुन सक्रिय भएसँगै प्रदेशका विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो र डुबानजस्ता विपद्बाट उत्पन्न हुन सक्ने चुनौतीबारे छलफल भएको छ ।
मुख्यमन्त्री शाहले प्रदेशमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने सम्भाव्य घटनाको पूर्वानुमान गरी घटना हुन नदिन सुरक्षा निकायहरूबाट पूर्व सर्तकता अपनाउन र तयारी अवस्थामा रहन तथा हाल मनसुनबाट सिर्जना हुनसक्ने विपद्लाई ध्यानमा राखी विपद् व्यवस्थापनको लागि पूर्वतयारी अवस्थामा रहन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बैठकमा सुदूरपश्चिमका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल, नेपाली सेनाका उपरथी किरण केसी, सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति पवन खत्री, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बलको वैद्यनाथ बाहिनीका बहिनीपति दिग्विजय सुवेदीलगायतको उपस्थिति रहेको थियो ।






