Hamro Patra
मोटरसाइकल दुर्घटनामा साथी जब घाइते भए …… 

टीकापुर, साउन १९
तपाईको मोटरसाइकल दुर्घटना भयो, सँगै रहेको साथी घाइते भयो भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि घाइतेलाई नजिकैको अस्पताल पुर्याउनु हुन्छ होला । 

तर बर्दियामा एउटा अनौठो घटना सार्वजनिक भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीलाई उपचारको सट्टा नालामा फालेर फरार रहेका मोटरसाइकल चालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका वडा नं. ४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका वडा नं. ७ कालीगौडी बर्दिया बस्दै आएका २० वर्षीय गोविन्द जैसी रहेका छन् । 

साउन १५ गते राति करिब २ बजे जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक जैसी घाइते भएका थिए भने मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका वडा नं. ९ बेथहनी गाउँका २७ वर्षीय आसाराम थारु सम्पर्कविहीन भएका थिए । 

घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो । 

अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामै रहेका थारुलाई उद्धार गर्नुको सट्टा चालक जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी मृतकले लगाएको माला/डोरीले घाँटी कसी हत्या गरेर  शव सिँचाइ नालामा फालेर फरार भएको खुलेको छ । 

घटनामा संलग्न जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update