Hamro Patra
टीकापुरका सम्राट खनाल ‘द भ्वाइस अफ किड्स’को फाइनलमा

टीकापुर, साउन २३
कैलालीको टीकापुरका सम्राट खनाल चर्चित रियालिटी शो द भ्वाइस अफ किड्सको फाइनलमा प्रवेश गरेका छन् । 

बालबालिकालाई गायन क्षेत्रमा स्थापित गर्दै आइरहेको शोमा सुदूरपश्चिमबाट फाइनल प्रवेश गर्ने उनी एक्ला बाल गायक हुन् । 

टीकापुर नगरपालिका वडा नं. १ का ११ वर्षीय खनाल गायक सत्यराज आचार्य नेतृत्वको टिम सत्यबाट फाइनलमा प्रवेश गरेका हुन् । खनालसँगै टिम सत्यबाट कविना राई समेत फाइनल प्रवेश गरेकी छन् । 

Tikapur Khanepani

हिजो राति सम्पन्न सेमिफाइनल राउण्डबाट फाइनल प्रवेश गर्नेमा गायक वाङदेन शेर्पा नेतृत्वको टिम वाङदेनबाट शुभाष्ना खड्का र क्रियशन राना समेत फाइनल प्रवेश गरेका छन् । 

आज राति हुने सेमिफाइनल राउण्डबाट गायिका मिलन नेवार नेतृत्वको टिम मिलन र गायक अर्जुन सापकोटा नेतृत्वको टिम अर्जुनबाट दुई दुई जना फाइनल प्रवेश गर्नेछन् । 

टीकापुरस्थित रेडियण्ट मन्टेश्वरी इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययरत खनालले सयौं प्रतिस्पर्धीलाई पछि पार्दै फाइनल प्रवेश गरेका हुन् । 

शनिवार राति ९ बजेदेखि नै फाइनल राउण्डका लागि भोटिङ खुल्ला हुनेछ । दर्शकले दिएको भोटका आधारमा सर्वाधिक भोट प्राप्त गर्ने प्रतिस्पर्धीले द भ्वाइस अफ किड्सको उपाधी उचाल्नेछन् ।  

हिमालय टेलिभिजनमा प्रसारण भइरहेको प्रतियोगिताको शुरुवातमा टिम मिलनमा रहेका सम्राट ब्याटल राउण्डबाट स्टिल भएर टिम सत्यमा प्रवेश गरेका थिए । 

कुनै पनि सांगीतिक कक्षा नलिएका सम्राटले सानैदेखि आधुनिक गीतहरु गाउँदै आएकोमा प्रतियोगिता आमदर्शक, शुभचिन्तकको भोटिङबाट फाइनल प्रवेश गरेको उनका बुबा डम्बर खनालले हाम्रो पत्रलाई बताए । 

विद्यालयले सञ्चालन गर्ने रेडिण्न्ट स्टार २०८१ मा फस्ट रनरअप भएका सम्राटका दाजु अर्पण खनालले भिडियो बनाएर अडिसनमा पठाएका थिए । खनालले सबैलाई भोटिङ गरेर विजेता बनाई दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update