भालुको आक्रमणबाट युवक घाइते
साँफेबगर, साउन २६
सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा भालुको आक्रमणबाट २० वर्षीय एक युवक घाइते भएका छन् । चौरपाटी गाउँपालिका वडा नं. ६ दुनी सेलपाखाका नबिन आउजी भालुको आक्रमणमा परी घाइते भएका हुन् ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ बजे घर नजिकैको दोगडी खोलामा गोरु चराएर घर फर्किने क्रममा आउजी माथि भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट उनको टाउको, अनुहार र पिठ्युँमा चोट लागेको छ ।
घटनापछि स्थानीयको सहयोगमा घाइते आउजीलाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्र बहादुर बमका अनुसार घाइते आउजीको अवस्था मध्यम रहेको बमले बताएका छन् । भालुको आक्रमणपछि सेलपाखा क्षेत्रमा स्थानीयवासी त्रसित बनेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ १७:४१
प्रतिक्रिया दिनुहोस्







