बाजुरा, साउन २९
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ९ ताम्सुमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अविरल वर्षापछि ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो ।
मृत्यु हुनेमा त्रिबेणी नगरपालिका वडा नं. ९ का कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापा हुन् । त्यस्तै सोही ठाउँका ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौली देवी रावत घाइते भएका छन् ।
घाइते थापाको दायाँ खुट्टा र शरीरमा चोट लागेको छ भने रावतको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यलय बाजुरा सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिएका छन् ।
सूचना अधिकारी शाहीका अनुसार पहिरोमा परि बेपत्ता भएकी प्रतिक्षालाई खोजतलास गर्दा पहिरोले पुरिएको घरभित्र मृत फेला परेकी हुन् । पहिरोमा परी घाइते भएका दुईजनाको उपचारको लागि जिल्ला अस्पतालतर्फ लगिएको जनाइएको छ ।
त्रिवेणी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नन्द थापाका अनुसार उद्दार कार्य भइरहेको बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराको कमाण्डमा १७ जना प्रहरीको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
पहिरोले गाउँ नै प्रभावित भएको छ ।






