टीकापुर, साउन २९
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले एमालेबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले सामाजिक विकासमन्त्री, प्रमुख सचेतक चक्र मल्लले आर्थिक मामिला मन्त्री र दमन भण्डारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा शपथ लिएका छन् ।
यस्तै, जानकी ऐर बमले आर्थिक मामिला राज्यमन्त्रीका रूपमा शपथ लिएकी छन् । एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका हुन् ।
यसअघि नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री भट्टले शपथ लिए पनि नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन् ।






