काठमाडौँ, साउन ३१
नेपालको पश्चिम सिमानाको अन्तिम विन्दुमा रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तयारी अघि बढाइएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेर विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।
उक्त विमानस्थल सञ्चालनमा आउँदा पश्चिम नेपाल नै आर्थिक रुपमा चलायमान बन्ने र भारतीय पर्यटक आवगमन बढ्ने स्थानीयको अपेक्षा छ। यो विमानस्थल करिब २८ वर्षदेखि बन्द छ। कञ्चनपुर–३ बाट निर्वाचित ज्ञानेन्द्र सिंह महतराको सक्रियता र सभामुख डोलप्रसाद अर्यालको समन्वयमा विमानस्थल सञ्चालन बारे सभामुखको कार्यकक्षमा असार २५ गते सर्वपक्षीय छलफल भएको थियो।
उक्त छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेल, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहित सम्बन्धित कर्मचारीको उपस्थितिमा विमानस्थल सञ्चालनको सम्भावनाबारे छलफल भएको थियो।
त्यसअघि सभामुख अर्याल असारमा महेन्द्रनगर गएको बेला उक्त विमानस्थल निरिक्षण गर्न पुगेका थिए। त्यसबेला स्थानीयले विमानस्थल सञ्चालको लागि पहल गरिदिन आग्रह गरेअनुसार सभामुखले सबै पक्षलाई बोलाएर छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।
सभामुख अर्यालले मन्त्री र क्यानको महाप्रबन्धकलाई विमानस्थलको स्थलगत अवलोकन गरेर महेन्द्रनगर र टीकापुर विमानस्थल सञ्चालन गर्न सकिने वा नसकिनेबारे ठोस निर्णय गर्न भनेका थिए।
उक्त बैठकमा सभामुखको भनाइ उद्धृत गर्दै सांसद ज्ञानेन्द्र सिंह महतराले भने, ‘विमानस्थलको अवस्था स्थलगतरुपमा हेरेर सञ्चालन गर्न सकिने वा नसकिने स्पष्ट निर्णय गर्नुहोस् । नसकिने हो भने नसकिने भनिदिनुस्। आयोजनालाई लामो समय अल्झाएर राख्नु भएन ।’
त्यसपछि, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडक राज पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलसहितले साउन ५ र ६ गते महेन्द्रनगर र टीकापुर विमानस्थलको अनुगमन गरेका थिए।
उनीहरुको अनुगमनपछि अहिलेलाई महेन्द्रनगर विमानस्थल सञ्चालनमा ल्याउने र टीकापुरलाई भने ‘होल्ड’ गर्ने निर्णय भएको छ। क्यानका उपमहानिर्देक प्रेमनाथ ठाकुरले भने, ‘महेन्द्रनगर विमानस्थल सञ्चालनको लागि निकै काम अघि बढिसकेको छ। क्यानको चालू आर्थिक वर्षको बजेटमा राखेर उक्त विमानस्थल सञ्चालनमा ल्याउने पक्षमा छौँ।’
२०५५ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सशस्त्र द्वन्द्वपछि बन्द भएको थियो। त्यसपछि विमानस्थल सञ्चालनका लागि पटक–पटक प्रयास भएका थिए। २०७७ सालमा विमानस्थल सञ्चालनमा ल्याउन तीन तहको सरकारको लागत साझेदारी अवधारणा बनाइएको थियो। त्यसबेला विमानस्थल सञ्चालनको खर्चमा प्राधिकरणले ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लागत साझदारी गर्ने भनिएको थियो।
यसअघि ट्विनअटर जहाज मात्रै सञ्चालन हुने उक्त विमानस्थलको धावनमार्ग करिब एक हजार मिटर जति मात्रै थियो। स्थानीय र प्रदेश सरकारले समेत लागत व्यहोर्ने भएपछि एटीआर जहाज अवतरण गराउने गरी धावनमार्ग विस्तार गर्न करिब ५० करोड रुपैयाँमा ठेक्का लगाइएको थियो। धावनमार्गलाई बढाएर १ हजार ५२५ मिटर बनाउनुपर्नेमा १४ सय ५० मिटर धावनमार्ग तयार भएको छ। बाँकी ७५ मिटर धावनमार्ग विस्तार हुने क्रममा छ।
ठाकुर भन्छन्, ‘धावनमार्गका एक तहको कालोपत्रे भइसकेको छ। त्यसलाई केही सुधार गर्नुपर्ने, टर्मिनल भवन मर्मत गर्नुपर्ने र विमानस्थलको वरिपरि तारबारको काम बाँकी छ। त्यसका लागि चालू आर्थिक वर्षमा बजेट छुट्याएर काम अघि बढाउने तयारी भएको छ।’
१५ सय २५ मिटरको धावनमार्ग तयार हुँदा ७२ सिटसम्म यात्रु क्षमता भएका एटीआर विमानले सेवा दिन सक्छन्। यस्तो विमानस्थललाई उडड्यन क्षेत्रको भाषामा ‘थ्री–सी’ क्याटगरीको विमानस्थल भनिन्छ।
उता कैलालीको टीकापुर विमानस्थलका लागि भने ठूलो लगानी आवश्यक पर्ने, जग्गाा अधिग्रहण गर्नपर्ने लगायतका कारण सञ्चालनमा ल्याउन नसकिने निष्कर्षमा मन्त्रालय र क्यानको नेतृत्व पुगेको हो। ठाकुरले भने, ‘टीकापुर विमानस्थल सानो जहाजको लागि हो। ठूलो जहाज लैजान विमानस्थल बढाउनुपर्छ। जग्गा अधिग्रहण गर्नुपर्छ। यसका लागि ठूलो लगानी चाहिन्छ।’
२०३० सालबाट २०५५ सालसम्म सञ्चालनमा महेन्द्रनगर विमानस्थलको जग्गा मात्रै ६२ बिघा छ। प्रशस्त जग्गा भएको हुँदा विमानस्थल सञ्चालनको लागि नयाँ जग्गा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छैन। तर, विमानस्थलको जग्गाबाटै नेपाल विद्युत् प्राधिकरणले थ्रि–फेजको प्रसारणलाइन विस्तार गरेको छ। त्यसलाई भने हटाउनु पर्नेछ।
विमानस्थल सञ्चालन गर्ने हुँदा उक्त प्रसारणलाइन हटाउन विद्युत् प्राधिकरण तयार भएको सांसद महतराले बताए।यो विमानस्थल शुक्लाफाँटा राष्ट्रिय निकुन्जको सीमानामा छ। उक्त निकुन्जमा रहेको नेपाली सेनाको सुरक्षा ब्यारेकले विमानस्थलनजिकै खेल मैदान बनाएको छ। त्यसलाई पनि हटाउनुपर्ने अवस्था रहेको ठाकुरले बताए।
खेल मैदान भएको जग्गा भने शुक्लाफाँटा राष्ट्रिय निकुन्जको हो। त्यसबाहेक विमानस्थल वरपरका केही रुखहरु काट्नुपर्नेछ। त्यसका लागि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आवश्यक सहयोग गर्ने बताएकी छन्।
अहिले कञ्चनपुरका स्थानीय तथा भारतीय पर्यटक काठमाडौं आउनुपरेमा ६३ किलोमिटर सडकमा डेढ घण्टाको यात्रा गरेर धनगढी विमानस्थलमा आएर हवाइ जहाज चढ्छन्। महेन्द्रनगर विमानस्थल सञ्चालन हुँदा सस्तो खर्चमा दिल्ली–काठमाडौं ओहोरदोहोर गर्न सकिने सम्भावना हुन्छ।
अहिले भारततर्फको सडकमार्ग सुधार भएको छ। महेन्द्रनगरबाट सडकमार्ग हुँदै करिब ६ घण्टामा भारतको राजधानी नयाँ दिल्ली पुग्न सकिने क्यानका महानिर्देशक ठाकुर बताउँछन्। उनी भन्छन्, ‘महेन्द्रनगर विमानस्थलको व्यावसायिक सम्भावना छ। काठमाडौंबाट महेन्द्रनगरसम्म विमानमा र त्यहाँबाट करिब ६ घण्टामा सडकमार्गबाट नयाँ दिल्ली पुग्न सकिन्छ। यसो हुँदा कम खर्चमा भारत आवत–जावत गर्न सकिन्छ।’
यसले भारतीय पर्यटक बढाउन मद्दत गर्ने ठाकुर बताउँछन्।






