Hamro Patra
विद्यालय व्यवस्थापन समितिका सदस्य घुससहित पक्राउ

टीकापुर, भदौ ४
कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई बिहीबार धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित एक डेरी पसलबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई २ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ ।

विद्यालयका कर्मचारीको तलब तथा सेवा–सुविधा बढाइदिने भन्दै बमले रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो । सोही क्रममा रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको बताइएको छ ।

अख्तियारको टोलीले पक्राउ परेका बमबाट बरामद रकम तथा अन्य आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

घुस लिएको आरोपमा पक्राउ परेका बममाथि भ्रष्टाचार निवारण ऐनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update