टीकापुर, भदौ ४
कैलालीको टीकापुरका दीर्घबहादुर रावल नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनरमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्री परिषदको बैठकले साविक धनसिंहपुर गाउँ विकास समितिमा जन्मेर टीकापुरमा हुर्केका रावललाई डेपुटी गर्भनरमा नियुक्त गरेको हो ।
टीकापुरस्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण रावलले काठमाडौंको अमृत साइन्स क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरेका हुन् भने कैलाली बहुमुखी क्याम्पसबाट बिकममा सुदूरपश्चिम टप गरेका थिए ।
सानैमा बुवा पहलमानसिंह रावलको स्वर्गबास हुँदा आमा झुमीदेवी रावलले उनलाई हुर्काएकी थिइन् ।
लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई नियुक्त गरिएको हो ।
रावल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । एक वर्ष अघि राष्ट्र बैंकको कार्यकारी निर्देशक भएका रावले बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरिरहेका छन् ।
यसअघि (सन् २०१९ देखि २०२४) सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापन हेर्ने फाइनान्सियल युनिटको नेतृत्व गरेका रावलसँग राष्ट्रिय समन्वय समितिको सदस्य सचिवका रुपमा काम गरेको अनुभव समेत छ ।
राष्ट्र बैंक प्रवेश गर्नुअघि रावल नेपाल बैंकको सहायक प्रबन्धक थिए । राष्ट्र बैंकमा भने उनले आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर काम सुरु गरेका थिए ।
उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा पीएचडी स्कलर हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा एमबीए गरेका उनले समाजशास्त्रमा समेत स्नातकोत्तर गरेका छन् । रावल सामना बैंकिङ पुरस्कार, २०१२ बाट सम्मानित समेत भएका थिए ।






