टीकापुर, भदौ ५
कैलालीको टीकापुरमा ९२७ औं विश्वव्यापी रक्तदान दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९० पिन्ट रगत संकलन भएको छ ।
अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसन टीकापुर शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९० पिन्ट रगत संकलन भएको हो ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि रहेकी कैलाली क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले रक्तदान पुण्य प्राप्तिको महान कार्य भएको बताइन् । उनले विश्वमै रगतको अभाव भइरहेका बेला रक्तदान कार्यक्रमले कसैको जीवन बचाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले मानव कल्याणका लागि रक्तदान जरुरी रहेको बताए । उनले रक्तदान दान मात्र नभइ जीवन दान भएको बताउँदै महान कार्यमा सबैको सहभागिता अपरिहार्य रहने बताए ।
टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य दिपक निशानीले शुभकामना दिएको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रामकुमार विकले अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन प्रेम चौधरीले गरेका थिए ।






