टीकापुर, भदौ ६
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा हुने टीकापुर गोल्डकपको तयारीका लागि खड्ग स्मृति रङ्गशालामा वृहत् सरसफाई गरिएको छ ।
टीकापुर नगरपालिका वडा नं. ५ पार्करोडस्थित खड्ग स्मृति रङ्शालामा स्थानीयबासी, सुरक्षाकर्मी, खेलप्रेमी, समाजसेवीहरुको बाक्लो उपस्थितिमा रङ्गशालामा सरसफाई गरिएको हो ।
फुटबल खेलका माध्यमबाट टीकापुरलाई चिनाउने अभियान स्वरुप संघको आव्हनमा भएको सरसफाई कार्यक्रममा सयौंको सहभागिता रहेको थियो । आगामी कार्तिक १२ देखि १९ गतेसम्म सञ्चालन हुने प्रथम टीकापुर गोल्डकपमा ए डिभिजन क्लबका विभिन्न टिमले सहभागी हुनेछन् । भारतको कोलकातास्थित एक टिमले समेत प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७ लाख रुपैयाँ मात्र पुरस्कार पाउनेछन् भने द्वितीय हुने टिमले नगद ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
“टिकापुर चिनाउने अभियानः गोल्डकप बन्नेछ हाम्रो पहिचान” भन्ने नाराका साथ सम्पन्न हुने प्रथम टीकापुर गोल्डकपलाई स्थानीयबासीको सक्रिय सहभागिता र सहयोग रहेको संघका अध्यक्ष सन्तोष खड्काले बताए ।






