Hamro Patra
सर्पदंशबाट १६ वर्षीय बालकको मृत्यु

घोडाघोडी, भदौ ६ 
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ८ दिपनगरका १६ वर्षीय धनुष तिवारीको विषालु सर्पको डसाईबाट मृत्यु भएको छ ।

भदौ ४ गते राति घरमा सुतिरहेका बेला धनुषलाई हातमा सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई उपचारका लागि घोडाघोडी नगरपालिका वडा नं. ११ बडैपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल, धनगढी रेफर गरिएको थियो ।

गम्भीर अवस्थामा रहेका धनुषको उपचारकै क्रममा अवस्था थप बिग्रिएपछि मृत्यु भएको आफन्त भवानीप्रसाद तिवारीले जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा रहेका मृतकका बुवा गोविन्द तिवारी शनिबार घर पुगेपछि धनुषको अन्तिम संस्कार गर्ने तयारी गरिएको आफन्तले बताएका छन् ।

यसवर्ष कैलालीमा सर्पदंशका बिरामीको संख्या बढेको सर्पदंश उपचार केन्द्र बडैपुरमा कार्यरत अहेब जनक मगरले बताए । उनका अनुसार वैशाख यता मात्रै केन्द्रमा करिब १५० जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् । औषधीबाट उपचार सम्भव हुने बिरामीलाई केन्द्रमै उपचार गरिने र आइसीयू तथा भेन्टिलेटर आवश्यक पर्ने गम्भीर बिरामीलाई सेती प्रादेशिक अस्पताल रेफर गर्ने गरिएको उनले बताए । 

कैलालीमा सर्पदंशका बिरामीको उपचारका लागि चार वटा स्वास्थ्य संस्था रहेका छन् । बर्दगोरिया गाउँपालिकास्थित बर्दगोरिया अस्पताल, टीकापुर अस्पताल, बडैपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र र सेती प्रादेशिक अस्पताल धनगढीमा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update