Hamro Patra
९ हजार घरधुरीलाई पानी खुवाउँदै टीकापुर खानेपानी

टीकापुर, भदौ ६

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । 

साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खानेपानीका अध्यक्ष खडक धामीले अहिलेसम्म ४ ओटा ओभरहेड ट्याङ्कीबाट २९० किलोकमिटर पाइपलाइन मार्फत वडा नम्बर १ देखि ५ सम्मका ९ हजार ३१८ घरधुरीका करिब ५५ हजार जनसंख्यालाई २४ सै घण्टा पानी वितरण भइरहेको बताए । 

अध्यक्ष धामीले नगर विकास कोष र खानेपानी संस्था बिच भएको ऋण सम्झौता अनुसार साँवा ब्याज, १ करोड २५ लाख ६५ हजार ८०१ रुपैयाँ तिनुपर्नेमा खानेपानीले २ करोड रुपैयाँ तिर्न सफल भई ७४ लाख, ३४ हजार १९९ रुपैया साँवा घटाउन सफल भएको जानकारी दिए । 

गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त अनुदान र संस्थाको आन्तरिक आयबाट थप ११ किलोमटिर पाइप लाइन विस्तार गरी ६४७ घरधुरीमा धारा जडान पनि गरिएको अध्यक्ष धामीले बताए । 

टीकापुरको वडा नम्बर ३ रामपुरमा निर्माणाधीन खानेपानी संस्था र टीकापुर खानेपानी बिच सहमति भई रामपुर खानेपानीका बाँकी कामहरु दुबै खानेपानी संस्था मिलेर अगाडी बढाउने सहमति भएको बताए । 

साधारण सभामा गत आर्थिक वर्षको ४ करोड, ८६ लाख, ६ हजार ६६३ रुपैयाँ बराबरको आयव्याय सार्वजनिक गरिएको थियो भने चालु आर्थिक वर्षको ५ करोड ८५ लाख ५० हजार रुपैया बराबरको अनुमानित आयव्याय प्रस्तुत गरिएको छ । 

साधारण सभाको उद्घाटन गर्दै नगर विकास कोषको खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख शुभाषराज पन्तले खानेपानीको महशुल बढाउनु, पाइप लाइन र उपभोक्ता विस्तार गर्नु मात्र ठूलो कुरा नभई उनीहरुलाई निरन्तर स्वच्छ खानेपानी खुवाउने कुरामा ध्यान दिन सुझाव दिए । 

प्रमुख पन्तले टीकापुरमा खानेपानीको बिस्तारसँगै ढल निकासको पनि काम भैरहेकाले अवका दिनमा पनि यहाँका नागरिक तयार भएपछि नगर विकास कोषले १ अर्ब बराबरको ढल निर्माण गर्न तयार रहेको बताउँदै त्यसका लागि खानेपानीको कार्यसमिति काम गर्न तयार हुनुपर्ने बताए । 

टीकापुर खानेपानीका संस्थापक अध्यक्ष नवराज रावल ले सरकारले निर्माण गर्न लागेको रामपुर खानेपानीलाई पनि टीकापुर खानेपानीले जोडेर काम गर्न लागेकोमा धन्यवाद दिँदै राम्रो काम गर्न सुझाव दिए ।

संस्थाका अध्यक्ष खडक धामीको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा ईलाका प्रशासन कार्यालय प्रशासकिय अधिकृत सर्वानन्द चपाई, लम्की खानेपानी का अध्यक्ष मल्ल सिंह, टीकापुर खानेपानीका सल्लाहकार संयोजक भैरव सिंह रावल, नेपाली कांग्रेसका शुभनाथ देवकोटा, नेकपा एमालेका बलबहादुर विक, नेकपाका महेश बुढा, राप्रपाका डम्बर थापा, निवर्तमान कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

संस्थाका सचिव प्रकाश खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिता चौधरीले गरेका  थिए ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update