Hamro Patra
बस्ती छिरेको पाटेबाघ नियन्त्रणमा

बर्दिया, भदौ ८
बर्दियाको गेरुवा गाउँपालिकामा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिका वडा ४ गोलास्थित बस्ती नजिकैबाट वयस्क पाटेबाघ नियन्त्रणमा लिइएको हो । 

लामो समयदेखि घरपालुवा जनावरलाई आक्रमण गर्ने, मानव बस्तीको छेउछाउमा देखा पर्ने गरेको थियो । करिब एक महिनाको प्रयासमा पाटेबाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरीया पोष्टका रेन्जर रतिमान रावतले जानकारी दिए । उनले बस्ती नजिक बसेर दुःख दिने गरेकाले नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । 

करिब ८ वर्षको भाले पाटेबाघ नियन्त्रणमा लिन प्राविधिक उद्धार टोली, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष वन कार्यालय तथा स्थानीयवासीले सहयोग रहेको उनले बताए । 

दिनहुँ बस्ती नजिक आएर घरपालुवा जनावर खाने र दुःख दिने गरेको गेरुवा उपभोक्ता समितिका अध्यक्ष दिनेशबहादुर शाहीले बताए । बाघ नियन्त्रणमा आएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । 

नियन्त्रणमा लिएको बाघलाई रम्भापुर वन्यजन्तु उद्दार केन्द्रमा राखिने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोककुमार रामले बताए । 

यो सँगै बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा ७ वटा पाटेबाघ राखिएको छ । अब समस्याग्रसत बाघ फेला परेमा राख्ने ठाउँ नभएको उनले बताए । यसअघि भदौ २ गते गेरुवा गाउँपालिका वडा ४ शान्तिपुरबाट वयस्क पाटेबाघ नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update