Hamro Patra
दुई सन्तानकी आमाद्धारा प्रेमीसँग मिलेर श्रीमानको हत्या

टीकापुर, भदौ १०
दुई सन्तानकी आमाले आफ्‌ना प्रेमीसँग मिलेर फिल्मी शैलीमा श्रीमानको हत्या गरेको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा घर भई अमरावतीस्थित ससुरालीमा बस्दै आएका ३४ वर्षीय दीपक सुनार (३४) लाई उनकै श्रीमती २९ वर्षीया यमुना सुनारले प्रेमीसँग मिलेर हत्या गरेको घटना बाहिरएको हो । 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यमुनासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यमुनाका प्रेमी भनिने लम्कीचुहा नगरपालिका वडा नं. १० चुहाका ३६ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका वडा नं. ३ का ३२ वर्षीय रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ८ का ३८ वर्षीय बीरेन्दु राना र ३२ वर्षीय भीम राना रहेका छन् ।

श्रीमान् हराएको भन्दै प्रहरीमा निवेदन

साउन २२ गते इलाका प्रहरी कार्यालय लम्कीमा दीपककी श्रीमती यमुनाले आफ्‌ना श्रीमान् हराएको भन्दै निवेदन दिन्छिन् । इलाका प्रहरी कार्यालयले अमरावती इलाका प्रहरी कार्यालय टीकापुरको कार्यक्षेत्रमा पर्ने भन्दै उनलाई टीकापुर पठाउँछ । साँझ करिब ५ बजे यमुना प्रहरीमा पुग्छिन् । 

त्यसअघि सोही दिन दिउँसो २ बजे अमरावती प्रहरी चौकीले अमरावतीको जंगलमा रगतसहित शंकास्पद सामग्री फेला पार्छ । खबरपछि घटनास्थल पुगेको प्रहरीले खोजी गर्दा मासुको चोक्टा, दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र जेब्रा झोलाको ताना आदि भेटिन्छन् ।

त्यतिबेला कसको रगत हो र जंगलमा यी सामान कसरी पुगे भन्ने मेसो प्रहरीले पाउन सकेन । घटनाको केही समयपछि उक्त रगत मान्छेको भएको फरेन्सिक परीक्षणबाट पुष्टि भएपछि फिल्मी शैलीमा भएको रहस्यमय हत्या घटनाको पर्दाफास हुन्छ । 

होटलदेखि जंगलसम्मको योजना

प्रहरीका अनुसार हत्या आरोपितहरू साउन २१ गते टीकापुरस्थित एक होटलमा पुग्छन् । सोही दिन दिउँसो यमुना र उनका प्रेमी दुर्योधन एउटा होटलमा बसेर यमुना जानकी गाउँपालिकास्थित आफ्नो घर फर्किइन् ।

उता अन्य चार जना टीकापुरको अर्को होटलमा खाजा, नास्ता गरेर बसे । राति करिब १० बजे उनीहरू अमरावती पुगे । त्यहाँ पुगेको जानकारी यमुनालाई गराएपछि उनले श्रीमान् दीपकलाई स्कुटीमा राखेर जंगलतर्फ लगेकी थिइन् ।

प्रारम्भिक अनुसन्धान अनुसार जंगलमा पुगेपछि दीपकमाथि हतियार प्रहार गरी हत्या गरेर शव कर्णाली नदीमा फालिएको पक्राउ परेकाहरूले बयान दिएका छन् । प्रहरीका अनुसार यमुना र उनका प्रेमी सुवर्णकारले अन्य व्यक्तिलाई पैसा दिने सहमतिमा जीवनको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तर, हत्या गराउन कति रकममा ‘सुपारी’ दिइएको थियो भन्ने खुलेको छैन । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको टोली खटिएको थियो । 

प्रहरीले घटनामा संलग्नलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । १० वर्षीया छारी र ८ वर्षीय छोराकी आमा यमुनालाई प्रहरीले अमरावतीस्थित घरबाट पक्राउ गरेको हो भने उनका प्रेमी सुवर्णकार धनगढी र रानाद्वयलाई कञ्चनपुरको बेलौरीबाट पक्राउ गरिएको हो । 

श्रीमान् हराएको निवेदनका आधारमा अनुसन्धान गर्दा आरापितहरु काठमाडौंसहित विभिन्न ठाउँमा पुगेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update