टीकापुर, भदौ ११
रसुवा बाढीमा परेर कैलालीको टीकापुर नगर पालिकाका मात्रै ३० जना भन्दा बढी अझै सम्पर्कबिहिन छन । उनीहरु धेरैजसो त्यहाँ जलविद्युत गृह निर्माणको काममा मजदुरीका लागि गएको पाईएको छ ।
स्थानीयलाई त्यहाँ लैजाने एकजना ठेकेदार तुलाराम चौधरीका अनुसार आफ्ना ३० जना कामदार सुरुंग भित्रै फसेका छन । उनले बाढी आएपछि उनीहरुसँग सम्पर्क हुन नसकेको बताए ।
इलाका प्रशासन कार्यालय टीकापुरले कामको क्रममा रसुवामा रहेकाहरुको विवरण संकलन थालेको कार्यालय प्रमुख तारानाथ पनेरुले जानकारी दिए । उनले वडाध्यक्षहरु मार्फत विवरण संकलन भैरहेको बताए ।
इलाका प्रशासन कार्यालय टीकापुरका अनुसार सम्पर्कबिहिन हुनेहरुमा वडा नम्बर १ समितिपुरका बिरबहादुर चौधरी, सतिषराम चौधरी, मनिराम चौधरी, बादल चौधरी, राजेश चौधरी, जुगराम भनिने शिवनारायण चौधरी र दोर्जे चौधरी रहेका छन ।
त्यस्तै वडा नम्बर १ कै मुक्त कमैया शिविरका बादल चौधरी, विफु चौधरी, मानबहादुर चौधरी र जुगराम चौधरी समेत सम्पर्कबिहिन छन ।
वडा नम्बर विपतपुरका साधुराम चौधरी समेत सम्पर्कमा नरहेको इलाका प्रशासन कार्यालय टीकापुरले जनाएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन विकले रोजगारीका क्रममा रसुवा गएकाहरुका आफन्त सम्पर्कमा आउन थालेको बताए । उनले वडा नम्बर १ बाट मात्रै यो भन्दा धेरै व्यक्ति त्यहाँ गएको हुनसक्ने बताए ।
स्थानीय अनन्त खड्काले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरका ८ जना सम्पर्कबिहिन छन । उनीहरु ठेकेदार तुलाराम चौधरी मार्फत गएका हुन वा अन्यमार्फत गएका हुन भन्ने खुलेको छैन ।
सम्पर्कबिहिन हुनेमा ठगराम चौधरी, धनुवा चौधरी, कमलबहादुर चौधरी, चुन्की चौधरी, चन्द्रबहादुर थारु, सम्झना चौधरी, विष्णु चौधरी र परदेशी चौधरी रहेका छन । उनीहरु रसुवाको कुन ठाउँमा कार्यरत थिए भन्ने समेत नखुलेको स्थानीय खड्काले बताए ।
थारु समुदायका थुप्रै व्यक्तिहरु रोजगारीका क्रममा रसुवा जाने चलन बढेको छ । पछिल्लो समय सयौंको संख्यामा थारु समुदायका व्यक्तिहरु मजदुरी गर्न त्यहाँ पुगेका छन ।
यसले रसुवा बाढीमा कैलालीबाट मजदुरीका लागि त्यहाँ पुगेका थुपैै्र व्यक्तिहरु हताहती भएको हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै एनएमबी बैंकको टिमुरे शाखामा कार्यरत टीकापुर नगरपालिका वडा नम्बर १ का सुभाष रावल समेत सम्पर्कबिहिन छन । उनी कार्यरत बैंक रहेको भवन बाढीले बगाएको छ । उनी लगायत बैंकका अन्य कर्मचारी समेत सम्पर्कबिहिन छन ।






