Hamro Patra
रसुवा बाढीः कैलालीका ८० जना अझै सम्पर्कविहीन

टीकापुर, भदौ १४
भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्दारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आँतुर छन् ।

बाढीपछि टीकापुर नगरपालिका वडा नं. १ समितिपुरका वीरबहादुर चौधरी, सनिशराम थारु, मनिराम चौधरी, राजेश चौधरी, भुवन चौधरी, अन्तराम चौधरी, खुसीराम चौधरी, दीपक चौधरी सम्पर्कविहीन हुनुभएको छ । वडा नं. १ कै भुपू कमैया बस्तीका बादल चौधरी, बिफु चौधरी, मानबहादुर चौधरी, शिवनारायण चौधरी, प्रजित डगौरा थारु समेत सम्पर्कविहीन छन् । 

यस्तै एकतापुरका राजकुमार थारु, विपतराम चौधरी, आशिष चौधरी, आशिषकी बहिनी कमला चौधरी, विपतपुरका साधुराम चौधरी पनि सम्पर्कमा छैनन् । 

टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरका चुन्की थारु, चन्द्रबहादुर थारु, धनुवा थारु, ठगराम चौधरी, कमलबहादुर चौधरी पनि सम्पर्कविहीन छन् । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार टीकापुरका श्रमिकहरु जलविद्युत आयोजनाको सुरुङ नम्बर २१६ मा कार्यरत थिए । 

यस्तै रसुवा भन्सार कार्यालयमा कार्यरत  टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं १३ का सन्तोष न्यौपाने, बैंकमा कार्यरत ब्लक नं. १४ का सुभाष रावल र नुवाकोटको विदूरमा कार्यरत टीकापुर वडा नं. ७ डाँडाबोझीका अर्जुनकुमार डगौरा थारु, टिमुरे पार्किङमा काम गर्ने ज्योतीनगरका सन्दीप सन्ज्याल, मनकला सन्ज्याल, सुस्मिता जोशी, वडा नम्बर २ का करिश्मा शाही पनि सम्पर्कविहीन छन् । 

वडा कार्यालयहरुले सम्पर्कविहीन व्यक्तिहरुको परिवारबाट सूचना लिइ प्रशासनलाई उपलब्ध गराएको र उद्धार भएको खबरको प्रतिक्षामा बसेका टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन् । 

टीकापुरका युवाहरुलाई काममा लैजाने समितिपुरकै ठेकेदार तुलाराम चौधरी र भान्से दलबहादुर चौधरी भने सम्पर्कमा आएका छन् । बाढी आउने बेला कोठामै रहेका दुबैजना भागेर अग्लो स्थानमा जाँदा सुरक्षित भएका हुन । 

‘बाढी आएको बेला सुरुङमा कैलाली र डोटीका ४२ जना र चार जना चिनियाँ कर्मचारी काममा थिए’ ठेकेदार तुलारामले भने ‘करिब २०० मिटर गहिरो सुरुङ छ । भित्र पसिसकेका भए भित्रै थुनिएको हुनुपर्छ, कोही डण्डी काट्ने काममा बाहिर भए बगे होलान ।’

जानकी गाउँपालिकाले सहयोग गर्ने

जानकी गाउँपालिकाका चारजना अझै सम्पर्कविहीन छन् भने चार जनाको उद्दार गरिएको छ । सम्पर्कविहीन हुनेमा जानकी गाउँपालिका वडा नं. ६ धर्मापुरका श्याम चौधरी, वडा नं. ७ बेलपुरका चक्रबहादुर चौधरी, वडा नं. ४ का राजकपुर चौधरी, वडा नं. ६ जगतपुरका प्रविण चौधरी छन् । 
वडा नं. १ तोरैयाँपुरका दिलिप चौधरी, वडा नं. ७ का गौरब चौधरी र छुनुकराम डगौरा तथा वडा नं. ६ जगतपुरका अनिल चौधरीको उद्दार भइसकेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले आफन्त सम्पर्कविहीन भएपछि चिन्तामा रहेका परिवारलाई मनोपरामर्श सेवा सुरु गरेको छ भने आफन्त खोज्न जानेलाई यातायात खर्च उपलब्ध गराउने भएको छ । ‘सम्पर्कविहीन भएकाहरुको परिवारलाई घरभेट गरी मनोपरामर्शका लागि मनोसामाजिक परामर्शकर्तालाई परिचालन गरिएको छ’ जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले भने ‘सम्पर्कविहीन भएकाहरुको खोजी कार्यका लागि जाने आफन्त र परिवारलाई यातायात खर्चको व्यवस्थापन गर्ने तयारी छ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीले शनिबार बेलुका जारी गरेको सूचनाअन्सार कैलाली जिल्लाबाट ८० जनाभन्दा बढी सम्पर्कविहीन अवस्थामा छन् । सूचना अनुसार धनगढी उपमहानगरपालिका वडा नं. १२ ए गाउँका शिवशंकर जोशी, वडा नम्बर २ का विकास ठकुरी, वडा नम्बर ५ हसनपुरका पुष्पा शाही, वडा नम्बर ३ का खरेन्द्र जोशी गरी चार जना रहेका छन् ।

गौरीगंगा नगरपालिका वडा नं. ४ का गोविन्द तामाङ, विष्णु साउद, नरेन्द्र साउद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अभिशेर सुनार, रमेश साउद, गोविन्द ओली, सुनिल बुढा मगर, सञ्जय शाही, संगम मगर, सोमबहादुर साहु, मानबहादुर शाही, अनिल चौधरी, सुनिल चौधरी, दिलीप चौधरी गरी १७ जना रहेका छन् । 

यस्तै जोशीपुर गाउँपालिका वडा नं. २ मुद्दीका शैलेश चौधरी, राजकुमार कठरिया, नरेश डगौरा, राजेश डगौरा, फत्ते कठरिया, राकेश थारु, रामप्रसाद कठरिया, बुधराम कठरिया, पदमराज बिनाडी, चुरे गाउँपालिकाका वडा नं. ३ का पदमबहादुर धामी, जनकबहादुर धामी, आनन्द धामी, गोमादेवी धामी, डम्मरा धामी छन् ।

त्यस्तै, कैलारी गाउँपालिका वडा नं. ३ का विश्वराज चौधरी, वडा नम्बर ६ का रोयल चौधरी, विश्व चौधरी, घोडाघोडी नगरपालिका ६ का तपेन्द्र कुँवर, बर्दगोरिया गाउँपालिका वडा नं. ५ का भुवन वाग्ले, वडा नम्बर ६ का विजय चौधरी सम्पर्कविहीन छन् । 

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सम्पर्कमा आइसकेका व्यक्ति र परिवारले जानकारी दिन र राहत सहयोग दिन चाहेमा जिल्ला प्रशासन कार्यालय वा स्थानीय पालिकाको कार्यालय वा नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेका छन् । 

गोरखापत्रबाट

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update