टीकापुर, भदौ २५
टीकापुर उद्योग वाणिज्य संघले व्यापारी व्यवशायीहरुको नि:शुल्क दुर्घटना बीमा गरेको छ । संघ र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्स लिमिटेडबीच आज दुई पक्षीय सम्झौता भएको छ ।
सम्झौतामा संघका तर्फबाट अध्यक्ष सन्तोष खड्का र इन्स्योरेन्सका तर्फबाट शाखा प्रबन्धक प्रकाश रेग्मीले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार संघमा दर्ता भएर नविकरण भएका व्यापारी व्यवशायीहरुले एक लाख रुपैयाँ बराबरको निशुल्क दुर्घटना बीमा लाभ पाउनेछन । यो सम्झौता एक वर्षसम्मका लागि लागु हुने अध्यक्ष खड्काले जानकारी दिए । उनले नि:शुल्क बीमा कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउने बताए ।
नि:शुल्क दुर्घटना बीमा अन्र्तगत व्यापारी व्यवशायीहरुले दुर्घटना भएर मृत्यु भएमा शतप्रतिशत बिमांक रकम पाउने, किरिया खर्च वाफत बिमांक रकमको १० प्रतिशत वा १० हजार, घाईतेको अवस्था हेरेर बढीमा शतप्रतिशतसम्म र घाईते भई औषधी उपचार गर्नुपरेको अवस्थामा एक लाखसम्मको औषधी उपचार खर्च पाउने छन ।
संघले पहिलो पटक व्यापारी व्यवशायीहरुको नि:शुल्क दुर्घटना बीमा गरेको हो । संघका अध्यक्ष खड्काका अनुसार यो बीमा कार्यक्रम अन्र्तगत व्यापारी व्यवशायीहरुले संघलाई अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
अध्यक्ष खड्काले सकेसम्म यस्तो बीमा दावी गर्नुपर्ने अवस्था कुनै व्यापारी व्यवशायीहरुले भोग्न नपरोस भन्दै यदि त्यस्तो अवस्था आईहाले संघका तर्फबाट व्यापारी व्यवशायीहरुको अफ्ठ्यारोमा सानो राहत हुने बताए ।
बीमा कम्पनीका शाखा प्रबन्धक रेग्मीले व्यापारी व्यवशायीहरुले सहजै बीमा दावी गर्न सक्ने बताए । उनले बीमा दावीमा कुनै अफ्ठ्यारो नहुने बताए ।





