Hamro Patra
१०८ कुण्डीय गोपाल कोटीहोमको तयारी तीव्र

टीकापुर, भदौ २५

कैलालीको टीकापुरमा आगामी मङ्सिर १२ देखि २२ गतेसम्म आयोजना हुने श्री विराट अष्टोत्तरसत १०८ कुण्डीय गोपाल कोटीहोम महायज्ञको तयारी तीव्र पारिएको छ ।

नेपालकै ठूलो धार्मिक महायज्ञका रूपमा आयोजना गर्न लागिएको कोटीहोम सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गर्ने तथा आवश्यक पूर्वाधार र व्यवस्थापनको कामलाई गति दिइएको आयोजकले जनाएको छ ।

महायज्ञ परिसरको सरसफाई तथा वातावरण संरक्षणका लागि गोपालप्रसाद चौधरीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । त्यस्तै, महायज्ञमा श्रद्धालु तथा भक्तजनको सहभागिता व्यवस्थित गर्न नरेशकुमार खत्रीको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको छ ।

महायज्ञलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले भव्य र व्यवस्थित बनाउन तयारीका कामहरू चरणबद्ध रूपमा अघि बढाइएको ईश्वर प्रेमी सेवा आश्रमका महासचिव पुष्पराज बमले जानकारी दिए ।

महासचिव बमका अनुसार महायज्ञमा देशका विभिन्न स्थानबाट साधुसन्त, धार्मिक व्यक्तित्व तथा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ । 
महायज्ञलाई टीकापुरको धार्मिक पर्यटन तथा सामाजिक एकताको महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने तयारी भइरहेको छ ।

आयोजकका अनुसार महायज्ञ अवधिभर धार्मिक अनुष्ठान, पूजापाठ, प्रवचनलगायत कार्यक्रम सञ्चालन गरिनेछन् । महायज्ञलाई व्यवस्थित बनाउन सुरक्षा, सरसफाइ, स्वयंसेवक परिचालन, श्रद्धालुको व्यवस्थापन तथा अन्य आवश्यक तयारीलाई समेत प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update