Hamro Patra
१०८ कुण्डीय महायज्ञ फागुनमा हुने

टीकापुर, भदौ २८
आगामी मङ्सिर १२ देखि २२ गतेसम्म आयोजना गर्ने तयारी गरिएको १०८ कुण्डीय अष्टोत्तरशत् गोपाल कोटीहोम महायज्ञ फागुनमा हुने भएको  छ । रसुवागढी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित मानवीय विपत्तिलाई ध्यानमा राख्दै आयोजक समितिले महायज्ञको नयाँ मिति तय गरेको हो । 

‘बाढीका कारण धेरै परिवारले आफन्त गुमाएको अवस्थामा सनातन परम्परा र सामाजिक संवेदनशीलतालाई समेत विचार गरी महायज्ञ फागुनमा गर्ने निर्णय गरेका हौं’ ईश्वरप्रेमी सेवा आश्रमका महासचिवका पुष्पराज बमले भने ‘टीकापुरका केही व्यक्तिहरुको अवस्था अझै अज्ञात छ, यस्तो बेला मानवीयताका कारण पनि सार्नु परेको हो ।’ 

आयोजक समितिको आज विहान बसेको बैठकले आगामी फागुन १३ देखि २४ गतेसम्म टीकापुरको खुल्ला मञ्चमा महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो । मुख्य व्यवस्थापक नवराज रावलको अध्यक्षतामा बसेको बैठकले महायज्ञका लागि यसअघि तय भएका तयारीका कार्यक्रम भने यथावत् रूपमा अघि बढ्ने बमले बताए । 

प्रचार प्रसार उपसमितिका संयोजक भुवनेश्वर अधिकारीका अनुसार प्राकृतिक विपत्तिका कारण मुख्य कार्यक्रमको मिति मात्रै परिवर्तन गरिएको हो । गठन भएका सबै समिति तथा उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार तयारीका काम निरन्तर अघि बढाउनेछन् ।

‘दैवी प्रकोपका कारण महायज्ञ र कोटीहोम गर्ने मिति मात्रै सारिएको हो । गठन भएका सबै समिति निरन्तर सक्रिय भएर आ–आफ्ना काम अघि बढाउनेछन्‌’ अधिकारीले भने ।

ईश्वर प्रेमी सेवा आश्रम टीकापुरको आयोजनामा तथा श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्यजी महाराजको संकल्पमा नेपालमै पहिलोपटक श्री विराट अष्टोत्तरशत् १०८ कुण्डीय गोपाल कोटीहोम महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञका लागि मूल आयोजक समितिसहित विभिन्न जिम्मेवारीमा पदाधिकारी तथा उपसमिति संयोजक र सदस्य चयन भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update