Hamro Patra
माछापालन व्यवसायबाट मनग्य आम्दानी

धनगढी, भदौ २८
कैलालीको कैलारी गाउँपालिका वडा नं. ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन् । कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले यो व्यवसाय आम्दानीको प्रमुख स्रोत बनेको छ ।

विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने योजनासहित माछापालन व्यवसाय गर्दै आएका खरेलले माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत गर्दै आएका छन् । उनले १२ हजार लगानीबाट माछापालन व्यवसाय सुरु गरेको भए पनि हालसम्म ५० लाख लगानी गरिसकेको जानकारी दिए । 

आफ्नै जमिनमा चारवटा ठूला पोखरी निर्माण गरी माछापालन गर्दै आएको बताउँदै वार्षिक ६५ लाख बराबरको कारोबार हुने उल्लेख गरे । सम्पूर्ण खर्च कटाएर वार्षिक १५ लाख जति बचत हुने गरेकोे उनको भनाइ छ । 

‘माछापालनमा लगानीसँगै मेहनत र समय दिनुपर्दछ । राम्रोसँग व्यवस्थापन गर्न सके यसबाट परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचत पनि गर्न सकिन्छ’ उनले भने । माछापालन व्यवसायको रेखदेख तथा हेरचाहका लागि आठ जना स्थानीयलाई उनले रोजगार दिएका छन् । 

उनीहरूको मासिक तलब मात्रै एक लाख ५२ हजार रहेको उनले जानकारी दिए । खरेलको पोखरीमा हाल ग्रास, कमनकार्प, रहु, जलकपुरलगायत जातका ३०० क्विन्टल जति माछा छन् । माछा होलसेलमा प्रतिकिलो ३०० र खुद्रा प्रतिकिलो ३५० का दरले बिक्री गर्दै आएको उनले बताए । 

पछिल्लो समय यहाँका दक्षिणी सिमानाका कडाई गरिएपछि अवैध रूपमा नेपाल भित्रिने भारतीय माछाको आयात रोकिएपछि बजारमा माछाको मूल्य पनि सोचेअनुुसार प्राप्त भइरहेको किसान खरेलले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update