Hamro Patra
अटो र मोटरसाइकल ठोक्किंदा बालकको मृत्यु

टीकापुर, भदौ २८

कैलालीको धनगढीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ वर्षीय बालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं २ मिलनचोकमा आइतबार दिउँसो दुर्घटना भएको हो । चौराहाबाट भन्सारतर्फ जाँदै गरेको से १ प ५९५९ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा से १ स ६११ नम्बरको अटोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
अटो चालक धनगढी उपमहानगर पालिका वडा नं २ आदर्शटोलका १८ वर्षीय अंकित गुप्ता रहेका छन् भने मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका वडा नं ८ का २२ वर्षीय दिनेश थापा हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक थापाको दुवै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार बालकको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते दुवैलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा बालक विशाल गोतामेलाइ चिकित्सकले साँझ ४ः१५ बजे मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मृतकको पहिचान पछि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका विशाल गोतामेका १४ वर्षीय छोरा क्रिस गोतामेका रूपमा खुलेको छ ।
दुर्घटनापछि अटो, अटो चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update