Hamro Patra
आज हरितालिका तीजः पूजा आराधना गरी मनाइँदै

टीकापुर, भदौ २९
आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन् । भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत ९तीजको व्रत० बस्ने परम्परा छ ।

महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नु हुँदैन ।

यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन् । शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि समाजमा भने महिलाले मात्र श्रीमान्‌को दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ । भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव–पार्वतीको पूजा र उपासना गर्नाले सुख, शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ ।

पौराणिक कथाअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएकी   थिइन् । पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना सखीहरूलाई उक्त समस्या सुनाएकी थिइन् ।

पार्वती ठुलो समस्यामा परेको थाहा पाएपछि सखीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाएर राखे। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । 

यसरी साथीहरूद्वारा पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले सोही समयदेखि हरितालिका तीजको व्रत बस्ने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । यस अवसरमा महिलाहरू भेला भई खुसीयालीका साथ नाचगान गर्ने गर्छन्। तीजका गीतमा भगवान्‌को भक्तिगाथाका साथै महिलाका आन्तरिक पीडा र मनोभावना अभिव्यक्त भएको पाइन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update