Hamro Patra
टीकापुरमा जंगली हात्तीको आतंकः स्थानीय त्रसित

टीकापुर, भदौ २९
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ को सितापुर क्षेत्रमा एक महिनादेखि जंगली हात्तीले आतंक मच्चाई रहेको छ । नजिकै रहेको भुराखानी सामुदायिक वनबाट गाउँबस्तीमा आउने हात्तीले धानबाली खाएर आतंक मच्चाउन थालेको हो । 

जंगली हात्तीले रातिको समयमा बस्ती तथा खेतबारीमा प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । हात्तीले किसानहरूले लगाएको धानबालीमा समेत क्षति पुर्‍याउँदै आएको छ । लामो समयदेखि हात्तीको आवतजावत नरोकिएपछि किसानहरू आफ्नो मेहनतले लगाएको बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको सीतापुरका मनोज चौधरीले बताए । 

हात्तीको आतंकबाट स्थानीयवासीको सुरक्षा र किसानको बाली संरक्षणका लागि सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्न आवश्यक उनीहरुले माग गरिरहेको छन् । जंगली हात्तीले टीकापुर नगर वडा नं. ५ को खड्गस्मृति रंगशाला क्षेत्रमा समेत आतंक मच्चाएको छ । 

स्थानीय हर्क विष्टले जंगली हात्तीले करिब एक महिनादेखि नै सो क्षेत्रमा आतंक मच्चाउने गरेको बताए । उनका अनुसार हात्तीले धानबालीमा क्षति पुर्याउँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update