टीकापुर, भदौ ३०
कैलालीको सीमावर्ती भजनीबाट लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित टीकापुर अस्पतालमा कार्यरत अहेब अनिल भुलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
टीकापुर नगरपालिका वडा नं. ३ कटानपुरका ३० वर्षीय अनिल भुल, सोही ठाउँका ३२ वर्षीय देवेन्द्र शाही र घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानीका अन्दाजी ३७ वर्षीय कृष्ण चौधरीलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी कुसुमघाटका अनुसार उनीहरूको साथबाट लुकाइराखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ तथा से ६ प ३६६२ र भे ३ प ९४८४ नम्बरका दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भजनीमा पठाइएको सशस्त्र प्रहरी बल बीओपी कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र नाथले जानकारी दिएका छन् ।





