टीकापुर, भदौ ३०
नेपाली काँग्रेस क्षेत्र नं. १ कैलालीले केन्द्रिय कार्यसमितिले तोकेकै मितिमा अधिवेशनहरु सम्पन्न गर्ने भएको छ । आज बी.पी. स्मृति भवन टीकापुरमा आयोजित छलफल कार्यक्रमबाट क्षेत्र नं. १ कैलालीले सो निर्णय गरेको हो ।
केन्द्रिय कार्यालयले वडा अधिवेशन असोज ३ र ४ गते, गाउँ/नगर अधिवेशन असोज ७ र प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
छलफलमा सहभागी क्षेत्र नं. १ का २३ वटै वडाहरुका सभापति, जानकी गाउँ सभापति, जोशीपुर गाउँसभापति र टीकापुर नगर सभापतिले अधिवेशन सहज रुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महासमिति सदस्य एवं संविधान सभा सदस्य बुद्धिसागर चौधरीले पार्टीलाई वैधानिक रुपमा सञ्चालन गर्नका लागि यो अविधेशन महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा बोल्दै पूर्व महासमिति सदस्य फकिरसिंह कडायतले अधिवेशनलाई पार्टी एकताको अधिवेशन बनाउन सबै एकजुट हुनुपर्ने बताए । उनले पार्टी कमजोर भएका कारण लोकतन्त्रमाथिको प्रहार नरोकिएको भन्दै लोकतन्त्रका लागि सबै क्रियाशील सदस्यहरु एकठाउँमा आउनु पर्ने बताए ।
क्षेत्रीय सभापति प्रकाश शाहले असोज ३ र ४ गते आव्हन गरिएको अधिवेशन नै आधिकारिक अधिवेशन भएको उल्लेख गर्दै सबै वडा सभापति, गाउँ सभापति र नगर सभापतिलाई अधिवेशन सम्पन्न गर्न आग्रह गरे । शाहको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले व्यक्तिगत तिक्तता त्यागेर पार्टी हितमा लाग्न आग्रह गरेका छन् । कार्यक्रममा सबै वडा सभापतिहरुले वडाको अवस्थाबारे जानकारी गराएका थिए ।
कार्यक्रममा प्रदेश सभा क का सभापति परशुराम महतौ, प्रदेश सभा ख का सभापति बलिराम चौधरी, उदयराम अधिकारी, दीपेन्द्र रावल, दीपेन्द्र कठायत लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव प्रकाश शाहले गरेका थिए ।
क्षेत्र नं. १ कैलालीमा टीकापुर नगरपालिकाका ९ वटा वडा, जानकी गाउँपालिका ५ वटा वडा, जोशीपुर गाउँपालिकाका ७ वडा र भजनी नगरपालिकाका २ वडा गरी २३ वटा वडा पर्दछन् ।





