काठमाडौं, भदौ ३१
नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको भनेर स्टाटस लेखेपछि धेरैले यसलाई डिभोर्सको तयारीका रुपमा बुझेका छन् । तर, उनले डिभोर्सका लागि नभएर बहुविवाहको मुद्दा हाल्न लागेको खुलेको छ ।
आज सामाजिक सञ्जालमा लेखेको स्टाटसमा रञ्जिताले घुमाउरो ढंगले यसको संकेत गरेकी थिइन् । उनले लेखेकी छन्, ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्न, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ । तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन ।’
यस विषयमा नेपाल प्रेसले रञ्जितासँग जिज्ञासा राख्दा उनले बहुविवाहको मुद्दा हाल्न लागेको बताइन् । उनले भनिन्, ‘म धेरै समयदेखि मौन बसेकी थिएँ । तर मलाई नै झन् धेरै पीडा दिने काम भएको छ । म उहाँ (रेशम चौधरी) विरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा छु ।’
रञ्जिता रेशमकी पहिलो पत्नी हुन् । रञ्जितालाई धोका दिएर रेशमले आशा चौधरीसँग दोस्रो विवाह गरेका थिए । रञ्जिता र रेशमको एक छोरा छन् भने आशातर्फ एक छोरी छिन् ।
पछिल्लो समय रेशम र रञ्जिताबीच राजनीतिक रुपमा फाटो आएको छ भने उनीहरुको दाम्पत्य सम्बन्ध पनि सहज छैन । लामो समयदेखि उनीहरू अलग बसिरहेका छन् । रञ्जिता काठमाडौंमा छोरासँग बस्छिन् । रेशम भने कान्छी श्रीमती आशा र छोरीसँग बर्दियामा बस्दै आएका छन् । आशाले रेशमसँग भिडिओहरु बनाएर टिकटकमा हालिरहेकी हुन्छिन् । ती भिडियोहरूले रेशम र आशाबीच सम्बन्ध सुमधुर रहेको जनाउ दिन्छन् । पछिल्लो भिडिओमा आशाले लेखेकी थिइन्, ‘मान्छेहरु भ्रममा छन्, म उहाँको एक्लो बुढी हो ।’
बुझिएअनुसार रेशम र आशाको विवाह दर्ता भएको छैन । रञ्जितासँग डिभोर्स नगरिकन विवाह दर्ता गरेमा त्यो गैरकानूनी हुनेछ । कानूनतः विवाह दर्ता नभए पनि बहुविवाह सावित गर्न कठिनाइ देखिँदैन ।
आशा मोडल र थारु चलचित्रकी हिरोइन हुन् । रेशमले थारु चलचित्र निर्माण निर्माण–निर्देशन गर्ने क्रममा आशासित नजिकिएका थिए । रेशमको आशासँग भेट हुँदा रञ्जितासँग विवाह भइसकेको थियो । रेशम र आशाले विवाह दर्ताका लागि प्रयास गरिरहेको सूचना पाएपछि रञ्जिताले बहुविवाहको मुद्दा हाल्ने तयारी गरेको बुझिएको छ ।
नेपाल प्रेसबाट





