Hamro Patra
बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गिरीको पद चैट

टीकापुर, भदौ ३१
कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद रिक्त भएको छ । निर्वाचित भएको दल त्याग गरी अर्को दलमा आबद्ध भएका स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको जानकारी निर्वाचन आयोगले सार्वजनिक गरेसँगै गिरीको उपाध्यक्ष पद रिक्त भएको हो ।

गिरी २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएको दल परित्याग गरेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भएका थिए ।

गिरीले माओवादी केन्द्र छाडेपछि पार्टीले उनलाई निष्कासन समेत गरेको थियो । उनलाई पार्टीबाट निष्कासन गरिएको निर्णयसहितको जानकारी सम्बन्धित दलले निर्वाचन आयोगमा पठाएको थियो ।

निर्वाचन आयोगका अनुसार दलबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो दल त्याग गरी अर्को दलमा प्रवेश गरेको सम्बन्धमा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयसहित जानकारी प्राप्त भएपछि कानुनी व्यवस्थाअनुसार पद रिक्त हुन्छ । आयोगले देशभर स्थानीय तहका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । 

रिक्त हुनेमा तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित दुई उपाध्यक्ष तथा आठजना वडाध्यक्ष रहेका छन् ।

स्थानीय तह निर्वाचनमा जुन दलबाट निर्वाचित भएको हो, सोही दल त्याग गरेमा जनप्रतिनिधिको पद रिक्त हुने व्यवस्था स्थानीय तहसम्बन्धी कानुनमा रहेको छ। यही व्यवस्थाअनुसार गिरीको उपाध्यक्ष पद पनि रिक्त भएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update