टीकापुर, भदौ ३१
सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक आर्थिक वर्षमा भएका ठूला सवारी दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशका विभिन्न जिल्लामा भएका १४ वटा ठूला सवारी दुर्घटनामा ४४ जनाको मृत्यु भएको भने १६२ जना घाइते भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार सबैभन्दा बढी मानवीय क्षति हुने दुर्घटना बझाङमा भएको थियो ।
महेन्द्रनगरबाट बझाङतर्फ जाँदै गरेको पवनदूत यातायातको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए । बस सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।
बैतडीमा भएका तीन ठूला दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं. ८ साडीघाँटीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु र १२ जना घाइते भएका थिए । त्यस्तै, पाटन नगरपालिका वडा नं. ९ गैराखानमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु र २३ जना घाइते भएका थिए । बैतडीकै दशरथचन्द नगरपालिका वडा नं. ४ इश्वरीगङ्गा जाने बाटो नजिक बोलेरो दुर्घटना हुँदा १२ जना घाइते भएका थिए । सुर्नया गाउँपालिका वडा नं. ७ भञ्ज्याङमा ईभी गाडी सडकबाट करिब २५ मिटर तल खस्दा १० जना घाइते भएका थिए ।
सडक दुर्घटनामा परी कैलालीमा समेत मानवीय क्षति भएको छ । कैलालीका विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका थिए ।
उता, कञ्चनपुरका विभिन्न ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् भने बझाङमा ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका थिए । डोटीमा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका थिए ।
प्रहरी विवरणमा समेटिएका यी दुर्घटनाहरूमा जिप, बस, ट्याक्टर, मोटरसाइकल, अटो, ई–रिक्सा, बोलेरो र ई–हाइस लगायतका सवारी साधन दुर्घटनामा परेका छन् ।





