टीकापुर, असोज १
सुदुरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदिय नेता कमलबहादुर शाहले हाम्रो संस्कृति र संस्कार जोगाउनु हाम्रो दायित्व भएको बताएका छन् ।
रामारोशन विकास केन्द्रको प्रथम साधारण सभा तथा घाँसे मेलाको टीकापुरमा उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
उनले सुदुरपश्चिमको पहाडी क्षेत्रमा रामारोशन, बढीमालिका र खप्तड मुख्य पर्यटकिय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकार लागि परेको र सरोकारवाला नागरिकहरुले पनि साथ दिनुपर्ने बताए।
पूर्व सामाजिक विकास मन्त्रि झपटबहादुर साउँदले रामारोशनको विकासका लागि आफूहरु लागि परेको बताउँदै केही वर्ष अगाडी आएको बाढीले केही संरचना तहसनहस पारेकोले विकासमा पछाडी परेको बताए ।
उनले अहिले पनि रामारोशन क्षेत्रको विकास लागि प्रदेश सभाबाट प्रयाप्त मात्रामा वजेट विनियोजनका लागि पहल भैरहेको बताए ।
पूर्व प्रदेशसभा सदस्य नन्दबहादुर साउँदले कुनै पनि ठाउँको विकासका लागि सडक सञ्जाल आवश्यक रहेको बताउँदै रामारोशनको विकासका लागि तराई पहाड जोड्ने सडक सञ्जालको विकास गरिनु पर्ने बताए।
साधारण सभा तथा मेला उद्घाटन कार्यक्रममा सुदुरपश्चिम खेलकुद विकास समितका पूर्व अध्यक्ष दिपक बहादुर साउँद, टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जी, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले शुभकामना मन्तव्य राखेका थिए ।
रामारोशन विकास केन्द्रका अध्यक्ष दिनेश कुमार शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष शुभनाथ देवकोटाले गरेका थिए भने सञ्चालन सचिव नवलसिंह रोकायाले गरेका थिए ।
संस्थाको साधारण सभाको बन्दसत्र असोज ३ गते हुनेछ ।





