Hamro Patra
बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीद्धारा उद्धार कोषमा सहयोग

टीकापुर, असोज २
टीकापुरको अग्रणी शैक्षिक संस्था टीकापुर बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ७६ हजार ५७ रुपैयाँ जम्मा गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको निर्णयअनुसार क्याम्पसमा कार्यरत ६० जना प्राध्यापक तथा कर्मचारीको तलबबाट तोकिएको रकम कट्टा गरी एकमुष्ट रूपमा उक्त रकम राहत कोषमा जम्मा गरिएको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विश्वविद्यालयले मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट सहयोग रकम संकलन गर्ने निर्णय गरेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकको निर्णयअनुसार उपकुलपतिको एक महिनाको तलब बराबर तथा विभिन्न तहका प्राध्यापक, शिक्षक र कर्मचारीको मासिक सुरु तलब स्केलअनुसार २ देखि १० दिनसम्मको तलब कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने व्यवस्था गरिएको थियो ।

सोही निर्णय र निर्धारित नम्सअनुसार टीकापुर बहुमुखी क्याम्पसका ६० जना प्राध्यापक तथा कर्मचारीबाट रकम संकलन गरी एकमुष्ट रूपमा राहत कोषमा जम्मा गरिएको क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update