Hamro Patra
विपदमा बालबालिका संरक्षण

टीकापुर, असोज ४

सामुदायिक विकास केन्द्र (सिडिसी) को आयोजनामा एकदिने विपदमा बालबालिकाको संरक्षणमा सरोकारवालाहरुको भूमिका विषयक छलफल तथा अन्र्तक्रिया कार्यक्रम आज टीकापुरमा सम्पन्न भएको छ ।

सेभ द चिल्डे«नको आर्थिक सहयोगमा भएको कार्यक्रममा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाका ४० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुमा पालिकाको विपद शाखा, शिक्षा शाखा, महिला विकास शाखाका प्रतिनिधिका साथै विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, प्रहरी, भलमन्सा र सञ्चारकर्मी लगायत रहेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति लोकराज जोशीले विपद जोखिम न्यूनिकरण र व्यवस्थापन बारे प्रस्तुती राखेका थिए । उनले आफ्नो प्रस्तुतीमा विपदको समयमा बालबालिकाहरुलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा जानकारी दिएका थिए । जोशीले विपदको समयमा सबैभन्दा जोखिममा बालबालिकाहरु पर्ने भएकाले उनीहरुको सुरक्षामा ध्यान दिन जरुरी हुने बताए । उनले खासगरी विपदको समयमा विद्यालयका विद्यार्थी जोखिममा रहने गरेको बताए ।

जोशीले विपदको पूर्वसूचना बारे विद्यार्थीलाई प्रयाप्त जानकारी दिने र त्यस्तो अवस्थामा कसरी जोगिने भन्ने बारेमा हरेक विद्यालयले सिकाउनुपर्ने उल्लेख गरे । उनले विकास र विपद व्यवस्थापन सँगसँगै अघि बढाउनु पर्ने बताउँदै हरेक संघसंस्थाबीच आपसी सहकार्य जरुरी रहेको बताए । जोशीले आपसी सहकार्य हुन नसके विपदको समयमा धेरै नोक्सानी व्यहोर्नु पर्ने अवस्था आउन सक्ने बताए ।

जोशीले जोखिम न्यूनिकरणको लागि लक्षित समुदाय सँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले लक्षित समुदायलाई बेखबर राखेर गरिने कार्यले विपदको समयमा जोखिम न्यून नहुने बताए । सोही अवसरमा सामुदायिक विकास केन्द्र (सिडिसी) का कार्यक्रम संयोजक एकराज बडुले विपदका क्षेत्रमा पालिकाहरुसँग मिलेर काम गर्न तयार रहेको बताए ।

जोशीले पालिकाहरुलाई आर्थिक, प्राविधिक लगायतका सहयोग गरिने बताए । कार्यक्रममा सहभागीहरुका तर्फबाट टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेश अवस्थी, कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्मा, जोशीपुर गाउँपालिकाका कल्पना मिश्र, भजनीका रोशन चौधरी, जानकीका आदेश रिमालले कार्यक्रममा धेरै कुराको जानकारी भएको बताए ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update