टीकापुर, असोज ४
नेपाल फोटोग्राफर एशोसियसन कैलालीको नयाँ नेतृत्व चयन भएको छ । टीकापुरमा सम्पन्न आठौ जिल्ला अधिवेशनले दिवाकर सिँह ठेकरेको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको हो ।
कार्य समितिको प्रथम उपाध्यक्षमा सोमराज घिमिरे, द्वित्तिय उपाध्यक्षमा जयबहादुर विक, महासचिवमा धु्रव सापकोटा, सचिवमा खुशीराम चौधरी र कोषाध्यक्षमा साधुराम चौधरी चयन भएका छन ।
त्यस्तै कार्य समितिको सदस्यहरुमा जगदीस पन्त, मनोज जेठारा, बिरु चौधरी, प्रकाश चौधरी, प्रदिप चौधरी, कालिराम चौधरी र राजु गुरुङ चयन भएका छन । नयाँ कार्य समिति चयनका क्रममा उनीहरु बाहेक अरु कसैको उम्मेदवारी नपरे पछि सबैजना निर्विरोध निर्वाचित भएका हुन । नयाँ कार्य समितिको कार्यकाल तीन वर्षको रहनेछ ।
नयाँ कार्य समिति चयन गर्नु अघि संस्थाको २६ औं वार्षिध साधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको थियो । नेपाल फोटोग्राफर महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले वार्षिक साधारण सभाको समुदघाटन गरेका थिए ।

समारोहको प्रमुख अतिथि समेत रहेका उपाध्यायले फोटो व्यवशायीहरुले देशभर ठूलो संख्यामा रोजगारी सिर्जना गरेको बताए । उनले आफूहरुले राज्यलाई सहयोग गरेपनि राज्यका तर्फबाट भने अफ्ठ्यारो भोग्नु परेको दुखेसो पोखे । उपाध्यायले नागरिकता, लाइसेन्स, राहदानी लगायतबाट फोटो व्यवशासीको फोटो हटाएर राज्यले आफूहरुको काम खोसेको आरोप लगाए ।
उपाध्यायले राज्यकै कारण कतिपय व्यवशायी पेशा छोडेर पलायन हुनु परेको बताए । उनले राज्यबाट ठूलो अनुदानको अपेक्षा नरहे पनि पेशागत संरक्षणको आश गरेको बताए । उपाध्यायले हरेक पेशाकर्मीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।
सोही समारोहमा विशिष्ट अतिथि रहेका टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन लुहार विकले फोटो व्यवशाय सम्मानित पेशा भएको बताए ।
अध्यक्ष टोप प्रकाश विकको अध्यक्षतामा सम्पन्न भएको समारोहको सञ्चालन महासचिव भरत भण्डारीले गरेका थिए । समारोहमा संस्थापक कार्य समिति, २५ वर्ष निरन्तर व्यवशाय गरिरहेका फोटो व्यवशायी लगायतलाई सम्मान गरिएको थियो ।





