टीकापुर, असोज ५
करिब दुई महिनादेखि बजेटविहीन बनेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले असोजको दोस्रो साता भित्रै बजेट ल्याउने तयारी भईरहेको बताएका छन् ।
उनले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउन अब धेरै समय नलाग्ने बताए । आर्थिक मामिला मन्त्रालयले बजेट तर्जुमासम्बन्धी मार्गदर्शन सम्बन्धित मन्त्रालयहरूलाई पठाइसकेको छ ।
प्रदेश सरकारले असोज ७ गतेदेखि प्रदेशसभा सदस्यहरूबाट योजना सिफारिस लिने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिए । ‘अबको तीन–चार दिनमा धेरैजसो काम पूरा हुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।
सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको लामो समय बितिसक्दा पनि बजेट पारित हुन सकेको छैन । बजेटसम्बन्धी प्रक्रिया लामो समयदेखि रोकिँदा प्रदेश सरकारको नियमित कार्यक्रम तथा विकास निर्माणका काम प्रभावित हुने अवस्था छ ।





