टीकापुर, असोज ५
रसुवास्थित जलविद्युत् आयोजनामा काम गर्न गएका टीकापुरका श्रमिकका परिवारले काम गरेको अवधिको पारिश्रमिक पाएका छन् । तर, पारिश्रमिक लिन पुगेका परिवारका हातमा रकम परे पनि लामो समयदेखि बेपत्ता आफन्तको खबर भने अझै आएको छैन । त्यसैले उनीहरूका लागि पारिश्रमिकभन्दा आफ्ना मान्छेको अवस्थाबारे जानकारी पाउनु ठूलो चिन्ताको विषय बनेको छ ।
भोटेकोशीमा आएको बाढीमा परेर श्रमिक बेपत्ता भएपछि परिवारहरू निरन्तर आफन्तको खोजी र खबरको प्रतीक्षामा छन् । आइतबार पारिश्रमिक लिन टीकापुर नगरपालिका–१, समितिपुर पुगेका उनीहरू रकम लिनुभन्दा पनि बेपत्ता आफन्तको अवस्था कहिले थाहा हुन्छ भन्ने चिन्तामा देखिन्थे ।
आयोजनाका लागि कामदार आपूर्ति गरेका तुलाराम चौधरीले निर्माण कम्पनीबाट श्रमिकले काम गरेको अवधिको पारिश्रमिक ल्याएर परिवारलाई बुझाएका हुन् । पोखरा छिङहवा कन्स्ट्रक्सनले ४७ जना श्रमिकले काम गरेको अवधिको १८ लाख ७६ हजार ५७३ रुपैयाँ चौधरीको खातामा पठाएको थियो । त्यसमध्ये १४ जना बाढीबाट जोगिएर फर्किएका श्रमिक र ३३ जना बेपत्ता श्रमिकका परिवारले पारिश्रमिक पाएका छन् ।
पारिश्रमिक लिन पुगेका परिवार भने बेपत्ता आफन्तको अवस्थाबारे अनिश्चिततामै छन् । टीकापुर नगरपालिका–५ का ठगराम चौधरीका छोरा कमल चौधरी बुवाको खोजीका लागि दक्षिण कोरियाबाट नेपाल फर्किएका हुन् । २० महिनाअघि दक्षिण कोरिया गएका उनी बुवा भोटेकोशीको बाढीमा परेर बेपत्ता भएको खबर पाएपछि नेपाल आएका थिए ।
बुवाको जीवितै भेटिने आशा कमजोर हुँदै गए पनि शव भेटिएर पहिचान हुने प्रतीक्षा भने कायमै रहेको कमल बताउँछन् । बाढीपछि लगातार शव फेला परेको खबर आइरहेकाले हरेकपटक आफ्नो बुवाको शव भेटिएको हो कि भन्ने आशा पलाउने र फेरि निराश हुनुपर्ने अवस्था रहेको उनले बताए ।
‘हरेक दिन शव फेला परेको सुन्दा मेरो बुवा पनि त्यसैमा हुनुहुन्छ कि जस्तो लाग्छ’ उनले भने ‘पाँच जनाको दुई लाख १४ हजार ४८७ रुपैयाँ पारिश्रमिक लेखिएको संयुक्त चेक पाएको छु । तर मेरो ध्यान मेरो बुवाको खबर कतिबेला आउँछ भन्नेमा छ । यसको जवाफ पाइरहेको छैन ।’
टीकापुर नगरपालिका–शक्तिनगरका दिलबहादुर चौधरीकी श्रीमती यशोदा चौधरीले पनि श्रीमान्को डेढ महिनाको ज्यालाबापत ६० हजार रुपैयाँ बुझिन् । असार ३० गते रसुवा गएका दिलबहादुर बाढीमा परेर बेपत्ता भएपछि परिवारले उनको अवस्थाबारे कुनै निश्चित खबर पाउन सकेको छैन । यशोदाका लागि श्रीमान्को ज्याला हातमा पर्नुभन्दा उहाँको अवस्था थाहा पाउनु महत्वपूर्ण छ । ‘अहिले ज्यालाको भन्दा पनि हाम्रा मान्छेको खबर पाउन आतुर छौं’ उनले भनिन् ।
कमैया शिविरका दीपक चौधरीकी श्रीमती मीना चौधरी पनि श्रीमान्को खबरको प्रतीक्षामा छिन् । बेपत्ता भएको लामो समय बितिसक्दा पनि श्रीमान्को अवस्था थाहा नभएपछि पारिश्रमिक पाउने–नपाउने विषयमा भन्दा उनको खोजी र खबरमै परिवारको ध्यान केन्द्रित रहेको उनले बताइन् ।
बेपत्ता श्रमिकका परिवारले एकातिर आफन्तको अवस्था थाहा नपाउँदा अनिश्चितता भोगिरहेका छन् भने अर्कोतिर परिवार चलाउने सदस्य गुमेको अवस्थाको आर्थिक चिन्ता पनि थपिएको छ । अहिले निर्माण कम्पनीले श्रमिकले काम गरेको अवधिको पारिश्रमिक मात्रै उपलब्ध गराएको छ । बेपत्ता श्रमिकको बिमा रकम भने अझै टुंगो लाग्न बाँकी छ।
कामदार आपूर्तिकर्ता तुलाराम चौधरीका अनुसार बिमा रकमबारे निर्माण कम्पनीसँग छलफल भइरहेको छ । ‘अहिले काम गरेको अवधिको निर्माण कम्पनीले दिएको तलब हो । कामदारको बिमाबापतको रकमबारे कुरा भइरहेको छ’ उनले भने ।
बेपत्ता श्रमिकका परिवारका लागि पारिश्रमिकले तत्कालको आर्थिक आवश्यकता केही सम्बोधन गरे पनि आफन्तको अवस्था अज्ञात रहँदाको पीडा भने यथावत् छ । त्यसैले उनीहरू अहिले पनि एउटै खबरको प्रतीक्षामा छन्– ‘बाढीमा बेपत्ता भएका आफ्ना मान्छे कहाँ छन् ?’
अग्रलेखबाट





