टीकापुर, असोज ५
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीले दुई महिनामा १२३ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ । कार्यलयले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा खाद्य तथा किराना, होटल तथा रेष्टुरेन्ट, ग्याँस पसल, डेरी तथा मिठाइ पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमन तथा निरीक्षणको क्रममा ११५ वटा फर्मलाई सामान्य कैफियतमा तत्काल सुधारका लागि निर्देशन दिइएको कार्यालयका निमित्त प्रमुख तारामान रावलले जानकारी दिए ।
त्यस्तै कैफियत देखिएका ८ वटा फर्मलाई आवश्यक कागजात पेस तथा बयान माग गरिएको उनले जानकारी दिए । उनका अनुसार सो अनुगमन तथा निरीक्षणको क्रममा दुई हजार १० रुपैयाँ बराबरका खान अयोग्य वा म्याद सकिएका वस्तु नष्ट गर्न लगाइएको छ ।
त्यस्तै कार्यालयले विभिन्न फर्म दर्ता, नवीकरण, खारेजी, संशोधन लगायतका शीर्षकमा दुई लाख ३२ हजार दुई सय ६० राजस्व संकलन गरेको रावलले जानकारी दिए ।
सो दुई महिनाको अवधिमा १३ वटा प्राइभेट फर्म दर्ता, ३० वटा फर्म नवीकरण, ३४ फर्म संशोधन, ३ फर्म खारेजी, ९ फर्मले प्रतिलिपि लिएका तथा १ फर्म स्थानान्तरण गरिएको उनले जानकारी दिए ।
त्यसैगरी दुई वटा साझेदार फर्म दर्ता, ७ फर्म नवीकरण, एक फर्म खारेज गरिएको तथा ४ वटा कम्पनी फर्म दर्ता भएका कार्यालयले जनाएको छ ।





