Hamro Patra
चित्तलसँग तीन मोटरसाइकल ठोक्किए

कञ्चनपुर, असोज ६
कञ्चनपुरको शुक्लाफाँटामा तीन मोटरसाइकल चित्तलसंग ठोक्किएका छन् । शुक्लाफाँटा नगरपालिका वडा नं. ५ अर्जुनीस्थित महेन्द्र राजमार्गमा तीन मोटरसाइकल ठोक्किएपछि चित्तल मरेको छ । 

सो दुर्घटनामा दुर्घटनामा दुइ जना घाइते भएका छन् भने दुई मोटरसाइकलका चालकलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका करिब ४ बजे धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेका तीन वटा मोटरसाइकल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सडक पार गर्दै गरेको चितलसँग ठोक्किएका थिए ।  

सो दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०२–००४ प ७७५५ नम्बरको मोटरसाइकलका चालक सुन्दर भट्ट र पछाडि सवार उनकी श्रीमती गंगादेवी भट्ट घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश ०१०–११ प ६४०७ र सुदूरपश्चिम प्रदेश ०२–००४ प ३८४२ नम्बरका मोटरसाइकल पनि दुर्घटनामा संलग्न थिए। ती दुवै मोटरसाइकलका चालकलाई सामान्य चोटपटक लागेको र उपचारपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चितल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सडक पार गर्ने क्रममा मोटरसाइकलसँग ठोक्किएको प्रारम्भिक जानकारी छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update