सुर्खेत, असोज ६
कर्णाली प्रदेशको सुर्खेतमा फरूवा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
जिल्लाको पश्चिमी चौकुने गाउँपालिका वडा नं. ५ रेक्चाका ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरूवाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।
मंगलबार बिहान सवा १० बजेतिर गोपीरामले श्रीमती चन्द्राको टाउकोमा फरूवा प्रहार गरी हत्या गरेको खबर पाउनासाथ पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीका अनुसार प्रहरी सहायक निरीक्षक बुद्धी साउँदको कमाण्डमा पुगेको चार जनाको टोलीले गोपीरामलाई पक्राउ गरेको थियो ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।





