Hamro Patra
रेशम चौधरीलाई पुनः जेल जाने जोखिम टर्‍यो

टीकापुर, असोज ६
नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको माफी मिनाहालाई सर्वोच्च मंगलबार सदर गरेको हो ।

न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गर्दै माफी मिनाहा सर्वोच्चद्वारा सदर गरेको हो । टीकापुर घटनामा ज्यान गुमाएका तत्कालीन नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

उक्त मुद्दामा राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायतलाई विपक्षी बनाइएको थियो । २०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशमलाल चौधरीको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

सरकार र राष्ट्रपतिको सो निर्णय असंवैधानिक, गैरकानूनी र पीडितको न्याय पाउने मौलिक अधिकारविपरीत रहेको दाबी गर्दै शारदा कडायत सर्वोच्च पुगेकी थिइन् । उनले आफ्नो रिट निवेदनमा रेशम चौधरीको कैद मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्न र उनलाई पुनः नियन्त्रणमा लिएर बाँकी सजाय भुक्तान गराउन माग गरेकी थिइन् ।

साथै, जघन्य अपराधमा संलग्न व्यक्तिलाई पीडितको सहमति र न्यायको सुनिश्चितताविना माफी दिन नमिल्ने कानूनी मान्यता कायम हुनुपर्ने उनको तर्क थियो । सर्वोच्च अदालतले रिट खारेज गरिदिएपछि रेशमलाल चौधरीलाई दिइएको कैद मिनाहाको निर्णयले पूर्ण कानूनी वैधता पाएको छ र उनले पुनः जेल जानुपर्ने जोखिम टरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update