Hamro Patra
किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

टीकापुर, असोज २६ 
कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघि परेको वर्षा र आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली भिज्नुका साथै धान ढलेको थियो । किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको हो ।

मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो । तर हिजोआज घाम लागेसँगै खेतमा पाकेको धानबाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका वडा नं. ३ बडहराको किसान भगतराम चौधरीले हिजोआज धान कटाइमा व्यस्त रहेको बताए । खेती किसानीबाट खानलाउनसहित घर खर्चको जोहो गर्दै आएका उनले खेतमा धान लटरम्म पाकेर झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न विग्रीने भन्दै चिन्ता व्यक्त गरे ।

‘हिजो आज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ’ चौधरीले भने, ‘झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौ ।’  नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै काम सकेर पर्व मनाउने उद्देश्यले किसानको व्यस्तता बढेको देखिन्छन् ।

खेतमा धान काट्दै गरेका अर्का किसान सुकराम चौधरीले पनि खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए । हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानले यतिबेला आधुनिक उपकरण प्रयोग गरिरहेका छन् । 

किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथे भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् । नेपालीहरूको महान पर्व बडादसैं सुरु भइसकेको छ ।

छिटोछिटो धानबाली भित्र्याएर पर्व मनाउने मनसायका साथ किसानहरू धानबाली भित्र्याउन आआफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्य जुटेका देखिन्छन् । थोरै खेत हुने किसानले थ्रेसर गरेर धान घरमा भित्र्याई सकेका छन् । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायत विभिन्न उन्नत धानका जात बढी मात्रामा लगाएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update