टीकापुर, असोज २६
बजेटमा बेथिति भएको भन्दै सत्ता समीकरण परिवर्तन गरी नयाँ सरकारले ल्याइएको नयाँ बजेटसमेत विवादरहित बन्न सकेन । बिचौलियामार्फत कमिसनको खेल भएको आरोप लगाउँदै सत्तारुढ दलकै सांसदहरूले बजेटमाथि असन्तुष्ट पोखेसँगै बजेट विवादरहित बन्न नसकेको हो ।
आइतबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रस्तुत गरेको ३७ अर्ब ७० करोड रुपैयाँको बजेटप्रति सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले असन्तुष्टि जनाएका हुन् ।
बजेटको विपक्षमा मतदान गर्ने चेतावनीसमेत दिएपछि बजेटमाथि छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । बैठक आज बिहान ८ बजेका लागि बोलाइएको थियो ।
सरकारलाई आफ्नै सांसदको समर्थन जुटाउन कठिन हुने अवस्था बनेपछि बजेट पारित गर्ने प्रक्रिया नै अनिश्चित बनेको छ । बजेट निर्माणमा सीमित व्यक्तिले एकलौटी निर्णय गरेको र योजनाहरू आवश्यकताभन्दा पहुँच तथा प्रभावका आधारमा छनोट गरिएको सत्तारुढ दलका सांसदहरूको आरोप छ ।
स्रोतका अनुसार बजेटप्रति केही मन्त्रीसमेत असन्तुष्ट छन् । मन्त्रालयबाट सिफारिस गरिएका प्राथमिकताका योजना नसमेटिएको र बजेटले विकासका ठूला तथा परिणाममुखी आयोजनालाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।
विकासका नाममा साना तथा टुक्रे योजनामा रकम छरेर कार्यकर्ता र पहुँचवालालाई लाभ पुग्ने गरी बजेट बनाइएको आरोपसमेत लागेको छ । बजेट निर्माणमा अर्थमन्त्री मल्ल र मुख्यमन्त्री खगराज भट्टले एकलौटी गरेको आरोप सत्तारुढ पक्षबाटै उठेको छ ।
नयाँ सरकारले आफ्ना प्राथमिकता कार्यान्वयन गर्न ४० बुँदे न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । मन्त्रालयहरूलाई आयोजना छनोट, बजेट निर्माण र सुशासनका विषयमा दिशानिर्देश गर्न ९९ बुँदे मार्गनिर्देशनसमेत तयार गरिएको थियो । तर, बजेट निर्माणमा ती प्रतिबद्धता र विज्ञका सुझाव बेवास्ता गरिएको सत्तारुढ दलकै सांसदहरूको आरोप छ ।





