टीकापुर, असोज २८
सुदुरपश्चिम प्रदेश सभामा सामाजिक विकास समितिको सभापति रहेका एमाले सांसद धर्मराज पाठकलाई एमाले संसदीय दलले फिर्ता बोलाएको छ ।
सांसद पाठकलाई प्रदेश सभाको संसदीय समितिको सभापतिबाट हटाउनुका साथै समितिको सदस्य समेतबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
सांसद पाठक सामाजिक विकास समितिका सभापति हुन् ।
स्रोतका अनुसार एमाले संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले सभामुखलाई पत्राचार गरिसकेका छन् । सांसद पाठकले मंगलबार बजेट पारित गर्ने सन्दर्भमा संसदीय दलको ह्वीप उल्लंघन गर्दै बैठकमा अनुपस्थित भएका थिए ।
चालु आर्थिक वर्षको बजेट सम्बन्धी विवाद एमालेभित्र सतहमा आएको छ । उच्चस्तरीय स्रोतका अनुसार पाठकलाई सांसद पदबाट समेत हटाउने तयारी एमालेले गरेको छ भने केन्द्र तहबाटै त्यो तयारी गरिएको बताइन्छ । पाठक समानुपातिक सांसद हुन् ।
अर्का सांसद वीरबहादुर थापाले बजेटप्रति असन्तुटि जनाउदै मंगलबार नै पदबाट सभामुखसमक्ष राजीनामा दिएका छन् ।





