धनगढी, असोज २९
नेपाल–गौरीफन्टा नाकामा नेपालीको भिडभाड बढेको छ । सीमावर्ती भारतीय बजारमा गएर किनमेल गर्ने र चाडपर्व मनाउन भारतबाट फर्कने नेपालीको नाकामा भिडभाड भएको हो । रोजगारीको सिलसिलामा भारतमा गएका नेपाली स्वदेश फर्किरहेका छन् ।
गौरीफन्टा नाकामा आउजाउ गर्नेको चहलपहल अत्यधिक बढेको धनगढी उपमहानगरपालिका विद्युतीय रिक्साचालक ध्रुव नेपालीले बताए । गौरीफन्टा नाकादेखि धनगढी बजारसम्म यात्रु ओहोरदोहोर गराउँदै आएको उनले भने ‘आउजाउ गर्ने मान्छे, सवारीसाधनको चाप नाकामा बढेको छ । पछिल्लो समय धेरै भिडभाड छ ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले नाकामा भिडभाड बढेसँगै सुरक्षाकर्मीले चेकजाँचको कार्यलाई कडा बनाएको बताए ।
उनले आवश्यकता अनुसार चेक प्वाइन्टमार्फत शङ्कास्पद गतिविधिको निगरानी भइरहेको उल्लेख गर्दै सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रणका लागि सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय पनि भइरहेको बताए ।
चाडपर्वमा समग्र सुरक्षाका लागि जिल्लाभरि एक हजार १४६ प्रहरी परिचालन गरिएको छ । जोखिम तथा सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी जनशक्तिलाई विभिन्न स्थानमा परिचालन गरिएको तिमिल्सिनाले उल्लेख गरे ।
उनले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत आवश्यकता अनुसार मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, सादा पोसाक, क्युआरटी, स्ट्राइकिङ तथा रिजर्भ टोली परिचालन भइरहेको जानकारी दिए ।




