कञ्चनपुर, असोज २९
भारतीय सीमावर्ती कञ्चनपुरको बनबासा क्षेत्रबाट तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा क्षेत्र चेकपोस्टले नेपाल फर्काएको छ ।
कर्णाली प्रदेशको पहाडी जिल्ला हुम्लाको सिमकोट गाउँपालिका वडा नं. ८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए ।
बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो । फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिरहेको छ ।
१० वर्षमुनिका २५ बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको भनिए पनि उनीहरूलाई त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन ।
बालबालिकालाई भारत लैजान अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।




