
टीकापुर, भदौ २८
टीकापुर नगरपालिकाको मुख्य चोक मानिने खड्ग चोकमा लगाइएको हाइमास्ड लाइट उद्घाटन गरिएको तीन दिनमै उतारिएको छ ।
सडक बत्तीमा पूरानो सामान प्रयोग भएको भन्दै उपमेयर शाहीले तीन दिनमै हाइमास्ड लाइट उतारेका हुन् । आज नयाँ सामान र ८ वटै बल्ब जडान गर्न लागिएको बताए । ‘अस्ती त पूरानो सामान हालेको थियो, बल्ब नि पूरा थिएन, आज पूरै नयाँ सामान र ८ वटै बल्ब हालिएको छ’ उपमेयर शाहीले भने ।
शनिवार ‘उज्यालो टीकापुर’ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै मेयर रामलाल डगौरा थारुले उक्त सडक बत्तीको उद्घाटन गरेका थिए । हाइमास्ड लाइट तीन दिनमै उपमेयर खड्कबहादुर शाहीले उतारेका हुन् ।
बत्तीको उद्घाटन भएको फोटो सामाजिक सञ्जालमा आएलगत्तै उपमेयर शाहीले काम पूरा नहुँदै उद्घाटन गर्न हतार गरिएको स्टाटस लेखेका थिए ।
उपमेयर शाहीले स्टाटसमै लाइट उद्घाटनमा आपत्ती जनाउँदै लेखेका थिए ‘हाइमास्ड लाइटको कार्य पूणर् भएको छैन, लाइट अधूरो छ, केही सामग्री पूरानो प्रयोग भएको छ, त्यो परिवर्तन गर्न भनिएको छ, हतारै गर्नुपर्ने केही कारण छैन । जय होस् ।’
पाँच शय वाट क्षमताका ८ वटा बत्ती एउटै पोलबाट चारै दिशातर्फ उज्यालो फाल्ने गरी हाइमास्ड लाइट जडान गरिएको थियो । नगरपालिकाले ९ लाख ६४ हजार रुपैयाँको कोटेशनमार्फत् अमिक इलेक्ट्रिकल एण्ड कन्स्ट्रक्सन कम्पनीलाई उक्त लाइट जडान गर्ने गरी सम्झौता गरेको थियो ।
१७ मिटर अग्लो पोलमा राखिएको उक्त बत्तीमा ८ वटा बल्ब जडान गर्नुपर्नेमा ७ वटा मात्रै जडान भएको र बल्ब झुण्ड्याउने रिङ्ग पूरानो प्रयोग गरिएपछि आफूले शनिवार नै नयाँ फेर्न निर्देशन दिएको भए पनि मेयर थारुले सोही दिन उद्घाटन गरेको उपमेयर शाहीले बताए ।
‘निर्माण कम्पनीले लाइट जडान गरिरहेकै ठाउँमा पुगेर ८ वटै बल्ब जोड्न र त्यो रिङ्ग नयाँ हाल्न निर्देशन दिएको थिएँ’ उपमेयर शाहीले हाम्रोपत्रलाई भने ‘केहीबेर पछि फेसबुकमा उद्घाटनको तस्वीर हेरें ।’
उपमेयर शाहीले बत्तीको उद्घाटन धरहरा स्टाइल भएको बताए । ‘धरहराको काम अझै अधुरै छ, उद्घाटन भएको वर्ष दिन भइसकेझैं काम पूरा नहुँदै उदघाटन गर्नु आवश्यक थिएन’ शाहीले भने ।
सडक बत्ती उद्घाटनका विषयमा उपमेयर शाहीको स्टाटस आएपछि टीकापुरमा बत्तीको चर्चा चुलिएको थियो । कतिपयले बत्ती जडान कार्यको प्रशंसा गरेका थिए भने कतिपयले हतारमा गरेको टिप्पणी गरेका थिए ।
टीकापुर जेसीजको कार्यक्रमलाई मध्य नजर गर्दै शनिवार हतारमै बत्तीको उद्घाटन गरिएको नगरपालिकाका मेयर रामलाल डगौरा थारुले बताए । ‘सम्मेलनमा उज्यालो बनाऊ भनेर सात वटै बल्ब भए पनि शुरु गरौं भनेर गरिएको हो’ मेयर थारुले भने ‘निर्माण कम्पनीले आज पूरै बल्ब लगाएर जोडिरहेको छ ।’
सडक बत्तीको उद्घाटनमा मेयर र उपमेयर बिच विवाद भएको हो ? हाम्रो पत्रको प्रश्नमा मेयर थारुले भने ‘उद्घाटन कसले गर्ने भन्ने कुरा यहाँहरुलाई थाहै छ, मैले आफ्नो काम गरेको हुँ । विवाद केही पनि होइन ।’
मेयर थारुले नगरपालिकाको योजना अनुसार वडा नं. १ को मुख्य बजार क्षेत्र र प्रत्येक वडामा एउटा एउटा गरी हाइमास्ड लाइट जडान गर्ने योजना रहेको बताए ।