Hamro Patra
उन्मुक्तिको विवादः मन्त्री बन्न तेश्रो व्यक्तिको इन्ट्री

टीकापुर, जेठ १
सुदूरपश्चिम प्रदेश सरकारको सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीमा मन्त्री बन्न तेश्रो व्यक्तिको इन्ट्री भएको छ । रेशमलाल चौधरी संरक्षक रहेको उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्न तेश्रो नम्बरमा पूर्व मन्त्री रामेश्वर चौधरीको इन्ट्री भएको हो । 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बुधवार पार्टीका तर्फबाट मन्त्री बन्न कैशाल चौधरीको नाममा पत्राचार गरे पनि संरक्षक रेशम पक्षीय संसदीय दलले दलका नेता घनश्याम चौधरीको नाममा निर्णय गरेको थियो । उक्त निर्णयमा समेत विवाद सिर्जना भएपछि विकल्पका रुपमा तेश्रो व्यक्ति रामेश्वर चौधरी मन्त्री बन्ने लाइनमा पुगेका हुन् । 

दुई दिनभित्रै नाटकीय शैलीमा बद्लिरहेको उन्मुक्ति भित्रको विवादको रोचक पाटो त के छ भने संसदीय दलले निर्णय गरेको घनश्यामले नै रामेश्वरलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई पत्राचार गरेका छन् । बैशाख ३१ गते चलानी नम्बर १५ को पत्रमा संसदीय दलका नेता घनश्यामले मन्त्री पद सपथ ग्रहणका लागि पत्राचार गरेका हुन् ।

mantri-1747306765.jpg
पत्रमा ‘नागरिक उन्मुक्ति पार्टी संसदीय दल कार्यालयको निर्णय अनुसार माननीय रामेश्वर चौधरीज्यूलाई उद्योग, पर्यटन, वन वातावरण मन्त्रालयको मन्त्री पदमा नियुक्त गरी सपथ ग्रहण गराई दिनु हुन सिफारिस साथ व्यहोरा अनुरोध गर्दछु’ लेखिएको छ । 

एक व्यवसायीसँगको विवादास्पद अडियो सार्वजनिक भएपछि मन्त्रीबाट लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका थिए । झण्डै दुई महिनादेखि मन्त्रीविहीन बनेको उक्त मन्त्रालयमा उन्मुक्तिभित्रको चरम विवादले रिक्त रहँदै आएको छ । उन्मुक्ति पार्टीका नेता एवं पूर्व उद्योग, पर्यटन, वन वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पार्टी र संसदीय दलबिच समन्वय नहुँदा समय घर्किंदै गएको टिप्पणी गरे ।

‘बजेट बनाउने बेला हो, यो बेला समयमा मन्त्री टुंग्गाएर काम गर्नुको सट्टा विवादमा उत्रिनु पार्टीका लागि उचित होइन्‌’ हाल काठमाडौंमा रहेका उनले भने ‘मन्त्री को बन्ने भन्ने कुरा संसदीय दलले निर्णय गर्ने कुरा हो, यसमा पार्टीले अत्तो थाप्नु हुँदैन थियो । सर्वसम्मतबाट नभएर बहुमत प्रक्रियाबाट निर्णय गरेर भए पनि मन्त्री टुंगो लगाउनु पर्ने हुन्छ ।’

उनले आफूले मन्त्रालय छोडेर मार्ग प्रशस्त गर्दा समेत पार्टीले मिलाउन नसकेको बताउँदै संसदीय प्रक्रियामा संसदीय दलको निर्णय नै मान्ने हुने दाबी गरे । सुदूरपश्चिम प्रदेशमा उन्मुक्तिका सात जना प्रदेश सभा सदस्य रहेका छन् ।

संसदीय दलका नेता घनश्यामको नाममा निर्णय गर्न बुधवार अबेर रातिसम्म बसेको बैठकमा दलका प्रमुख सचेतक इन्दिरा गिरीसहित घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशीराम डङ्गौरा गरी चार जनाको उपस्थिति रहेको थियो । प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी र टीका थापा काठमाडौँ रहेकाले बैठकमा अनुपस्थित भएका थिए भने कैलाश चौधरी भने बैठकमा सहभागी भएनन् । 

पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष श्रेष्ठबिचको तिक्तता यो घटनाबाट थप छरप्रष्ट भएको बताइन्छ । यसअघि समेत उन्मुक्तिबाट मन्त्रीमा सिफारिस गर्न अध्यक्ष र संरक्षकबीच तानातान भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update