
टीकापुर, असार २
टीकापुर नगरपालिकाको नगर सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले नगर सभामा प्रस्तुत गरेको ‘२५५ बुँदे’ नीति तथा कार्यक्रम सभाले पारित गरेको हो ।
कृषि, पर्यटन, टीकापुरको सौन्दर्यीकरण र उत्पादनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख रामलाल डगौरा थारुले बताए । उनले नगर सभाले सुझाव सहित सभामा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिए ।
नगर सभाबाट पारित नीति तथा कार्यक्रममा टीकापुर नगरलाई गुलाबको शहरका रुपमा विकास गरिने, उज्यालो टीकापुर अभियानलाई निरन्तरता दिने, प्लाष्टिकजन्य फूलका सामग्रीहरुमा पूर्ण प्रतिबन्ध लगाइने, टीकापुर पार्कलाई पुष्प उत्पादनको हब बनाइने, कृषक परिचय पत्र उपलब्ध गराउने, होमस्टे तथा फार्मस्टे सञ्चालन गरिने उल्लेख छ ।
मेयर घरदैलो कृषि तथा पशु स्वास्थ्य सेवा कार्यक्रम, एक वडाः एक पशु प्राविधिक र कृतिम गर्भाधान कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ । नीति तथा कार्यक्रममा घरेलु तथा साना उद्योगलाई प्रबद्र्धन गर्न साझेदारीमा उपकरण खरिदमा अनुदान दिइनेछ नीति लिइएको छ भने पर्यटन क्षेत्रको विकासका लागि सत्ती कर्णाली सामुदायिक वनलाई नमूना वन बनाइने, कृषि पर्यटकीय गन्तव्यको विकास गर्ने, बजार क्षेत्रका जमरा, रानी, ज्ञानी कुलोको बेल्टलाई कोरिडोरको रुपमा सञ्चालनमा ल्याई सौन्दर्यकरण गर्ने उल्लेख छ ।
त्यस्तै टीकापुर एयरपोर्टको धावनमार्ग कालोपत्रे गर्ने, माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी गुलाब महोत्सबको आयोजना गरिने, टीकापुर पार्कमा रेष्टुरेन्ट तथा संग्राहलय निर्माण र सञ्चालन, कर्णाली नदीको बेल्टलाई कर्णाली विश्वनाथ धामका रुपमा सञ्चालन गरिने उल्लेख छ ।
शिक्षातर्फ ‘झिकाऔं, सिकाऔं र टिकाऔं’ आदर्श वाक्यको अनुशरण गर्दै सघन विद्यार्थी भर्ना अभियान, विद्यार्थीको सिकाईमा सुधारः योजनाबद्ध शिक्षण प्रमुख आधारलाई केन्द्रबिन्दुमा राखेर टिचर डायरीको व्यवस्थापन गरिने नीति लिइएको छ ।
सिकलसेल ऐनिमिया रोग भएका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, टीकापुर अस्पतालमा विशेष सेवालाई निरन्तरता, आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणमा नियमन गरिने उल्लेख छ भने औषधी उपलब्ध गराउन पालिकास्तरीय फार्मेसी सञ्चालन गर्ने तथा नगर प्रमुख घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ ।
टीकापुरको मुख्य शहरी क्षेत्रमा पार्किङ स्थलको व्यवस्था, नगर यातायात गुरुयोजना निर्माण र नगरपालिकाको भू उपयोग योजनालाई कडाईका साथ लागु गरिने, घरनक्सा इ–पासको व्यवस्था तथा विद्युतीय नगर बस सञ्चालन गर्ने उल्लेख छ ।
नगर सभाले यही आर्थिक वर्षदेखि टीकापुर क्षेत्रमा प्लास्टिकका झोलाहरुको बिक्री वितरणमा रोक लगाइने, सरसफाई शुल्क संकलन गरिने र मानव मलमुत्र प्रशोधन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याइने नीति लिएको छ ।
नगर सभाले सबै वडाका भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न नापजाँच कार्यलाई तिब्रता दिने, लालपूर्जा वितरण गर्ने नीति लिइएको छ ।