Hamro Patra
आयोजनाको सहयोगले व्यावसायिक बन्दै किसानहरु

टीकापुर, असार ९
राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईले किसानहरुलाई बिउविजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक बन्न थालेका छन् । 

आयोजनाले किसानको आवश्यकताका आधारमा बिउ बिजनमा ५० प्रतिशत अनुदान, नयाँ प्रविधिमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराउन थालेपछि आयोजनाको कमाण्ड क्षेत्रका किसानहरु व्यावसायिक बन्न थालेका हुन् । 

आयोजनाको सहयोगले निर्वाहमुखी कृषि पेशा व्यावसायिक रुपमा उत्पादन गर्न मद्दत पुगिरहेको तरकारी खेती गर्दै आएका जानकी गाउँपालिका वडा नं. ५ पहाडीपुरका कृषक नारायणप्रसाद जोशीले बताए । उनले हाल तीन बिघा क्षेत्रफलमा टमाटर, आलु र लहरे तरकारी खेती गर्दै आइरहेका छन् । जग्गाको खोजीमा रहेका उनले आयोजनाले सहयोग गरिरहेकाले आफू थप दश बिघामा तरकारी खेती गर्ने योजनामा रहेको बताए । 

परम्परागत रुपमा बाख्रापालन गर्दै आएकी जानकी गाउँपालिका वडा नं. ९ अमरावतीकी किसान रिजना चन्द आयोजनाको सहयोगमा आधुनिक खोर निर्माण गरेर बाख्रापालन व्यावसाय विस्तार गरिरहेकी छन् । 

आयोजनाको सहयोगमा बिउ उत्पादन गर्दै आइरहेका आयोजनाको कमाण्ड क्षेत्रका विभिन्न कृषक सहकारीहरुलाई अनुदानमा भवन निर्माण, ग्रेडिङ्ग मेसिन, ढुवानीका साधन उपलब्ध गराई रहेकाले बिउ उत्पादनमा सहजता भएको जानकी गाउँपालिका वडा नं. ४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारी संस्थाका व्यवस्थापक गोविन्द रावतले बताए ।

Bijbridhi-1750668626.jpeg
त्यस्तै सत्तीस्थित उज्यालो सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार आयोजनाले अनुदानमा दिएको कम्पाइन मेसिनले किसानहरुलाई धान, गहुँ भित्र्याउन सहज भएको छ । उक्त सहकारीले सहकारीका सदस्य कृषकलाई धान, गहुँ कटानमा विशेष छुट दिँदै आएको छ भने किसानहरुलाई समयमै धान, गहुँ भित्र्याउन सहज हुँदै आएको छ । 

यता, टीकापुर नगरपालिका वडा नं. १ का पशुपालक किसान दुर्गा जैशी गोठ सुधार, बिउविजन, घाँसको बिउ र प्रविधिमा आयोजनाले अनुदान सहयोग दिँदा किसानको लागत कम हुने गरेकाले व्यावसायिकतातर्फ किसानहरु आकर्षित भइरहेको बताउँछन् ।

जानकी गाउँपालिका वडा नं. ३ का पशुपालक किसान सरिताकुमारी थारुले भैंसी फार्म सञ्चालनका लागि गोठ सुधारमा आयोजनाले सहयोग गरेको बताइन् । चौधरीले भैंसी पालनका लागि भौतिक संरचना निर्माणमा किसानले आधा मात्रै लगानी गरेर आयोजनाले आधा अनुदान दिँदा लगानी कम लाग्ने गरेको बताइन् । तीन वर्षदेखि भैंसीपालन गर्दै आएकी उनको फर्ममा हाल १५ वटा भैंसीहरु रहेका छन् ।  

Bhaisi-1750668626.jpeg
आयोजनाले व्यावसायिक कृषकदेखि साना किसानहरुको आयआर्जनमा वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । आयोजनाले केराखेती, बिजवृद्धि, बंगुरपालन, भैंसी पालन, बाख्रा पालन, तरकारी खेती गर्ने किसानहरुको आवश्यकताका आधारमा बिउ, भौतिक संरचना, नयाँ प्रविधि हस्तान्तरणमा अनुदान सहयोग गर्दै आइरहेको छ भने व्यावसायिक तालिम, क्षमता अभिवृद्धि तालिम जस्ता कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले बताए । 

आयोजनाका कर्मचारी, रानी, जमरा, कुलरिया सिँचाइ जल उपभोक्ता समितिका पदाधिकारी र टीकापुरस्थित सञ्चारकर्मीहरुको सहभागितामा आयोजनाले दोश्रो चरणको कार्यक्रममार्फत् सहयोग गरेका केही कार्यक्रमहरुको अनुगमन गरेको छ ।

टीकापुर नगरपालिका वडा नं. १ स्थित महुन्याल भैसी फर्म, वडा नं. ७ सत्तीस्थित उज्यालो सहकारी संस्था लिमिटेड, वडा नं. ४ बाघमारास्थित शुभम् एग्रोफर्म, वडा नं. ३ घियास्थित श्रेष्ठ बंगुर फर्म र दीपज्योति महिला कृषक समूहको अनुगमन गरेको हो । 

त्यस्तै जानकी गाउँपालिका वडा नं. ४ मुनुवास्थित बिजवृद्धि कृषि सहकारी संस्था, वडा नं. ५ पहाडीपुरस्थित खप्तड कृषि तथा पशुपन्छी फर्म, वडा नं. ९ स्थित अमरावती बाख्रा फार्म र वडा नं. ३ सुवर्णपुरस्थित सिम्रन पशुपन्छी फर्मको अनुगमन गरेको हो । 

टीकापुर नगरपालिका वडा नं. १ स्थित निर्माणाधीन कोल्ड स्टोरको समेत अनुगमन गरिएको छ । कोल्ड स्टोर आयोजना, जल उपभोक्ता समिति, टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ७ करोड ३९ लाखको लागतमा निर्माण भइरहेको छ । एक हजार टन आलु भण्डारण गर्ने उद्देश्यले आयोजनाले कोल्ड स्टोर निर्माण गरिरहेको हो ।

निर्माण अन्तिम चरणमा रहेको र केही महिनाभित्र सञ्चालनमा ल्याइने कृषि कार्यक्रम कार्यान्वय इकाईका प्रमुख भरतप्रसाद कँडेलले जानकारी दिए । हाल निर्माणको अन्तिम चरणका कामहरु भइरहेका छन् । 

Coldstore-1750668856.jpeg
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update