
टीकापुर, असार २२
टीकापुर नगरपालिकाले प्लाष्टिकजन्य झोलाको बिक्री वितरण र प्रयोगमा कडाई गर्ने भएको छ । नगरपालिकाले आइतवार पत्रकार सम्मेलन गरी साउन १ गतेदेखी टीकापुर नगरपालिका प्लाष्टिकजन्य वस्तु प्रतिवन्ध सम्बन्धी ऐन २०८० अनुसार अघि बढ्ने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा नगर प्रमुख रामलाल डगौरा थारुले तत्काल प्लाष्टिकजन्य झोलाको बिक्री वितरण र प्रयोगमा रोक लगाईने बताए । उनले क्रमिक रुपमा प्लाष्टिकजन्य सामग्रीलाई समेत प्रतिबन्ध लगाईने जानकारी दिए । ‘यो विकल्प दिँदै प्लाष्टिकमुक्त बनाउने अभियान हो’ उनले भने–‘अहिले प्लाष्टिकजन्य झोलाको विकल्प उपलब्ध भैसकेको छ ।’
उनले प्लाष्टिक झोलाको विकल्पमा अहिले उपभोक्ताले कपडा, फाईबर, कागज, ईको ब्याग प्रयोग गर्न सक्ने बताए ।
उनले ऐन विपरित काम गर्ने बिक्रेता वा प्रयोगकर्तालाई कसुरको मात्रा हेरी जरिवाना गर्न सक्ने जानकारी दिए । उनले बिक्रेतालाई पहिलो पटक १ हजार, दोस्रो पटक ३ हजार र तेस्रो पटकदेखी हरेक पटक ५ हजारका रुपैयाँका दरले जरिवाना गरिने बताए ।
त्यस्तै प्लाष्टिक झोला प्रयोगकर्तालाई पहिलो पटक १०, दोस्रो पटक ५० र तेस्रो पटक १ सय रुपैयाँ जरिवाना गरिने ऐनमा व्यवस्था रहेको बताईएको छ । त्यसपछि पनि प्रयोग गरे नाम सार्वजनिक गरी अन्य दण्ड सजाय समेत गर्न सकिने व्यवस्था रहेको छ ।
ऐनमा प्लाष्टिकको झोला उत्पादककर्तालाई समेत जरिवानाको व्यवस्था गरिएको छ । उत्पादककर्तालाई पहिलो पटक २ हजार, दोस्रो पटक ४ हजार र तेस्रो पटक ६ हजार रुपैयाँ जरिवाना गरिनेछ । त्यसपछि समेत अटेर गरे नाम सार्वजनिक गरी अन्य दण्ड सजायलाई अगाढी बढाईने बताईएको छ ।
ऐन उल्लंघन गर्ने उत्पादक र बिक्रेतालाई नगरपालिकाले व्यवसायिक दर्ता खारेजी तथा कारोवार बन्द गर्ने एवम् नगरपालिकाबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिने नगर प्रमुख थारुले जानकारी दिए ।
उनले नगर क्षेत्रमा निषेधित प्लाष्टिकजन्य वस्तुहरु उत्पादन, बिक्री वितरण, आयात, निर्यात, भण्डारण तथा प्रयोग गरेको सूचना गर्ने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत रकम मध्ये दामासाहीले पुरस्कार दिने ऐनमा व्यवस्था रहेको बताए ।
उनले नगर क्षेत्रमा दिन प्रतिदिन प्लाष्टिकजन्य फोहोर बढ्दै जाँदा नगरवासीहरुको जनस्वास्थ्य र नगरको समग्र वातावरण तथा सुन्दरतामा प्रतिकुल प्रभाव परेकोले नगरलाई सफा, स्वच्छ, सुन्दर र हरियाली बनाउन फोहरमैलाको स्रोतमा न्यूनिकरण, पुनः प्रयोग, पुनः चक्रण वा बिसर्जन गर्ने क्रममा यस्तो अभियान सुरु गरेको जानकारी दिए ।
उनले प्लाष्टिकजन्य वस्तुले पार्ने असरका बारेमा हामी सबै जानकार भएकाले यो अभियान सबैको सहयोगमा सफल हुने दावी गरे । ‘हामी सबै सचेत छौं’ उनले भने–‘बानी व्यवहारलाई सुधार्नु पर्ने मात्रै हो ।’ उनले विद्यालयमा विद्यार्थी मार्फत जनचेतना फैलाउने गरी अभियानको थालनी गरिने बताए । उनले रोकथामका लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको समेत सहयोग रहने बताए ।