राजनीतिक परिदृश्यमा देखिएको पछिल्लो अवस्था र स्थानीय चुनाब पश्चात् नेपाली राजनीतिमा जनताले परिवर्तन खोजेको देखिएको छ । लामो संघर्षबाट प्राप्त संविधान र त्यसले व्यवस्था गरेका उपलब्धि जोगाउन र व्यवस्थापन गर्न आगामी दिनमा विधिको शासन सञ्चालनमा धेरै समस्या आउन सक्ने संकेत देखिन्छ । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गरे पनि शासन, पद्धति र शासकको नागरिकप्रति दायित्वबोध र जवाफदेहिता कम देखिएको परिस्थितिमा आजका युवाहरूको चाहना बमोजिमको नेतृत्व राजनीतिक वृत्तमा कहिले आउँछ भन्ने सान्दर्भिक जनचासो हो र यसलाई केहि स्थानमा जनताले सार्थकता समेत दिई युवालाई अनुमोदन समेत गरेका छन् ।
युवाहरू युग परिवर्तनका संवाहक हुन् । सक्षम युवाको नेतृत्व र सहभागिताले सकारात्मक रूपान्तरण र दिगो विकासतर्फका गुणात्मक संकेत देखिन्छ । युवाले उद्यमशीलता, आर्थिक–सामाजिक रूपान्तरण, दिगो विकास र सुशासनसहितको भ्रष्टाचाररहित सभ्य सुसंस्कृत समाज निर्माण गर्न हरेक पक्षमा सक्षम युवाको भूमिका महत्त्वपूर्ण छ । बेलाबेलामा भएका आन्दोलनमा युवा नेतृत्व र सहभागिताले प्रजातन्त्र प्राप्तिदेखि गणतन्त्रसम्मको व्यापक परिवर्तन आएका बारेमा व्यापक छलफल र बहस पनि हुन्छन् ।
नेपालमा पनि विकास र योजना निर्माणमा युवा लक्षित धेरै कार्यक्रम र योजना पनि क्रमिक रूपमा बढिरहेका छन् । तर नेपालको राजनीतिक नेतृत्व र राज्यका निकायमा युवाहरूको पहुँच भने कम, नगण्य रूपमै छ । नेपालको पछिल्लो जनसंख्याको तथ्यांकअनुसार देशको ७० प्रतिशतभन्दा धेरै जनसंख्या ४० वर्षभन्दा कम उमेर समूहमा पर्छ । देशलाई आर्थिक, सामाजिक र राजनीतिक रूपले समुन्नत र समृद्ध बनाउन योभन्दा राम्रो अवसर के पो होला र ? यो अवसर पूरा गर्न राजनीतिमा युवा नेतृत्व भए अन्य क्षेत्रमा जस्तै राजनीतिक अवस्थामा पनि सकारात्मक परिवर्तन हुनेछ भन्ने आमविश्वास छ ।
पछिल्लो राजनीतिक परिवेशले सिर्जना गरेको सत्तारूढ ५ दलको गठबन्धन, त्यस भित्रका दलका गतिविधि र देखिएको आरोप–प्रत्यारोप र प्रमुख प्रतिपक्षी दलले अन्य दल र आफ्नै दलका नेताको बारेमा छुद्रा तथा टिप्पणीले गर्दा नेतृत्वले बेलैमा सचिन, आफ्नो सल्हाकार परिवर्तन र नेतृत्वको लागी पुस्तान्तरण गर्न बहस पनि सुरु गर्न जरुरी छ । यस्ता बहस पूरा हुन सके भने युवाले प्राप्त गरेका जिम्मेवारीलाई मुलुकको आमूल रूपान्तरणमा प्रयोग गरी अवश्य सार्थकता दिनेछन् । समग्र क्षेत्रको आमूल परिवर्तनमा राजनीति र युवाको महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि नेपालको राजनीति तथा राज्यका निकायहरुमा युवा नेतृत्व खै ? यो आजको सर्वाधिक चासो र खोजनीय विषय बनेको छ ।
युवा नेतृत्व लोकतान्त्रिक व्यवस्थासहितको राजनीतिमा सत्तापक्षको नेतृत्व होस् अथवा प्रतिपक्षको सदैव समग्र राजनीतिक व्यवस्था र प्रक्रियालाई प्रभाव पारेकै हुन्छ । राजनीतिलगायत अन्य हरेक क्षेत्रमा कुशल नेतृत्व र उसले निर्माण गरेको समूहले नै समग्र पक्षहरूको रूपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ । राजनीतिले देशलाई कुन दिशातर्फ लैजाने, कसरी मुलुक र नागरिकको समग्र विकास र आर्थिक, सामाजिक रूपान्तरण हुनसक्छ भन्ने बहुआयामिक पक्षसँग प्रत्यक्ष सरोकार राखेको हुन्छ ।
नागरिकमा खुसी, सुशासन कायम, कानुनी राज्य निर्माण र विधिको शासन सञ्चालन गर्न असल राजनीति र कुशल नेतृत्वका हातमा रहन्छ । समसामयिक यस्ता एजेन्डा आजका युवाका प्राथमिकतामा छन् । तिनलाई पूरा गर्ने जिम्मेवारी पनि युवाकै हातमा हुनुपर्छ । राजनीतिमा दूरदर्शी युवा नेतृत्वले समग्र नागरिकको विकास र राज्यकै समुन्नत पहिचान स्थापित गराउन प्रमुख भूमिका निर्वाह गर्न सक्छ ।
कुनै दलमा सरकार सञ्चालन र पार्टी नेतृत्वको होडबाजी त कुनैमा चुनाबमा आसेपासेलाई टिकट वितरण र फेरि पनि नेतृत्व लिने रस्साकस्सी अझै पनि उनै रिटायर्ड लिडरको एकाधिकार चल्दै आएको छ । तर पनि नयाँ सक्रिय पुस्तालाई नेतृत्व हस्तान्तरण गरी देशलाई अझै विकास, सुशासन र समृद्धितर्फ अगाडि बढाउन अहिलेका राजनीतिक नेतृत्वमा अनिच्छुकता किन देखिएको हो ? अन्य क्षेत्रमा जस्तै राजनीतिमा पनि उमेरको हदबन्दी जीवनको उत्तरार्धमा समेत यति जगडिएर रहनुको तात्पर्य के हुन सक्छ ?
युवामैत्री लहर विश्वको पछिल्लो राजनीतिक परिदृश्य हेर्ने हो भने सन् २०१९ को अन्त्यतिर फिनल्यान्डको प्रधानमन्त्रीमा सबैभन्दा कान्छी सान्ना मरिन ३३ वर्षको उमेरमा पहिलो महिला र देशको छयालीसौं प्रधानमन्त्री भएर विश्व जगत्मै एउटा सकारात्मक ऊर्जा थपिन् । सन २०२१ मा सन मारिनो देशका SIMONCINI GIACOMO २७ वर्षको उमेरमा निर्वाचित भई बिश्वको सबैभन्दा कान्छा नेतृत्वको रुपमा आफुलाई उभ्याउन सफल भए ।
विश्वव्यापी रूपमा उदयमान भएको युवामैत्री लहरले नेपालमा पनि बेलाबेलामा वैकल्पिक शक्तिका रूपमा विभिन्न क्षेत्रका युवाहरूलाई एकताबद्ध गरिरहेको पछिल्ला केही उदाहरण पनि छन् । सुशासन र लोक कल्याणकारी राज्य निर्माणका लागि बालेन शाह र हर्क साङपांङ जस्ता सक्रिय युवाहरूले नेतृत्वमा आएर नेपालका दलगत राजनीति गर्ने र परिवर्तन चाहनेका निम्ति उदाहरण बनिरहेका छन् ।
नेपालकै शीर्ष राजनीतिक दलहरूका युवाहरूमा पनि नेतृत्व गर्न सक्ने क्षमता भएका युवाहरू पनि सक्रिय नै छन् । अहिलेको प्रमुख राजनीतिक दलका भ्रातृ संगठन लगायत विभिन्न पदीय जिम्मेवारीमा रहेर आफ्नो कौशल देखाएका आशालाग्दा युवा नेतृत्व र उनीहरूका विज्ञ समूह पनि सक्रिय नै छन् । अन्य विभिन्न क्षेत्रमा समेत दक्ष, शिक्षित र अनुभवको विज्ञता हासिल गरेका युवा छन् र उनीहरूको राजनीतिमा आकर्षण बढ्दै गएको छ । आफ्नो युवा पुस्ताका लागि आफैं युवाले सभ्य र सुसंस्कृत राजनीतिक संस्कार सिकाउन उनीहरू नै बढी उद्यत् हुनुपर्छ र अग्रजले सही मार्गनिर्देश र उत्प्रेरणा सिर्जना गरिदिनु पर्ने दुवैको जिम्मेवारी होइन र ?
अर्कातर्फ, युवाहरू आफैंमा पनि परिपक्वता र नयाँ परिवेशको जस्तो रूपान्तरणको पनि उत्तिकै संकट देखिन्छ । युवा नेतृत्वका लागि राजनीति र समाजको पछिल्लो परिवेश र परिर्वतनलाई आत्मसात, मूल्यांकन र विज्ञता हासिल गर्नेतर्फ पनि अग्रसर हुनुपर्ने देखिन्छ । नागरिकले युवा पुस्ताबाट आशा गरेका विषयमा युवाको चरित्र र कार्यशैली नागरिकमैत्री हुन जरुरी पनि छ । परम्परावादी शैलीमा आएका पाका पुस्ताकै पछाडि परेर उनीहरूका सेवामा मात्र लागि पर्नु र नेतृत्वका आशा पनि गरिरहने द्वैध चरित्रले झन् बढी अस्थिरता सिर्जना गर्नेमा शंका छैन । त्यसैले नेतृत्व कसैले सहज रूपमा हस्तान्तरण गर्लाभन्दा पनि म कसरी नेतृत्व लिन योग्य छु भन्ने कौशल युवाले देखाउनु पर्ला कि ?
विभिन्न समयमा आन्दोलनका अग्रणी मोर्चामा रहेर अनियमितता र नागरिक अधिकारको प्रत्याभूति गराउन, भ्रष्टाचाररहित समाज निर्माण, सदाचार र सुशासनका निमित्त युवा शक्ति निरन्तर लागिरहेको देखिन्छ । एउटा कुशल नेतृत्वको जिम्मेवारी र गुण भन्नु नै इमानदारपूर्वक आफ्नो जिम्मेवारी पूरा गरी समय सान्दर्भिक युवा पुस्ताको नेतृत्व सिर्जना गरी आगामी पुस्ताको भविष्यको मार्गनिर्देश गर्नु पनि हो ।
यसर्थ अग्रज राजनीतिक नेतृत्वले आफ्नो जीवनकालमा सिकेका र आर्जन गरेका अनुभव र विज्ञता आफ्ना अनुजहरू युवासमक्ष हस्तान्तरण गरी दिगो आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणका लागि बेलैमा युवामा सकारात्मक उत्प्रेरणा सहितको पहल गर्नु उपयुक्त समय हो । यस्तो कदमले भोलिका दिनमा केही सकारात्मक परिर्वतन सहितको दिगो जनमुखी कार्य, नीति निर्माण र कार्यान्वयनमा जनताका अपेक्षाहरूको सम्बोधन तथा राज्यका निकायहरुमा युवाहरुको नेतृत्व देख्न सकिनेछ ।
टीकापुर–१, कैलाली





